काठमाण्डौ । पुँजीबजार सुधार र विस्तारका लागि सक्रिय लगानीकर्ता एवं पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले आज (असार १ गते) बाट आमरण अनशन सुरु गरेका छन्। 

कोइरालाले साढे ११ बजेबाट खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयबाहिर आमरण अनशन सुरु गरेका हुन्। कोइरालाको यो तेस्रो आमरण अनशन हो।

कोइरालाले आफूले थालेको आमरण अनशन नेपालका सबै लगानीकर्ताका संघसंस्था र सरोकारवालाको साझा आन्दोलन रहेको बताएका छन्। ‘हामीले उठाएका १९ बुँदे माग पूरा नभएसम्म अनशन जारी रहनेछ’, उनले भने, ‘म ५२ लाख आमलगानीकर्ताका तर्फबाट आमरण अनशन बसेर पुँजीबजार सुधार र विस्तारका लागि फेरि–फेरि पनि आन्दोलन गर्नुपर्ने र अनशन बस्नु नपर्ने गरी अन्तिम लडाइँ लड्दैछु।’

पुँजीबजारका सबै सरोकारवालाहरुको साझा आन्दोलन भएकाले सबैबाट साथ, सहयोग र समर्थनको अपेक्षा रहेको कोइरालाले बताए। 

पुँजीबजार सुधार र विस्तारका मागसहित लगानीकर्ताहरु गत जेठ २० गतेबाट आन्दोलनरत छन्। कोइरालाले आमरण अनशनसँगै आन्दोलनका अन्य कार्यक्रम पनि जारी रहने लगानीकर्ताहरुले बताएका छन्।