काठमाण्डौ । बुक बिल्डिङबाट आइपीओ जारी गर्न खोज्ने, सेयर ब्रोकर कम्पनी सञ्चालन गर्न इच्छुक, अंकित मूल्यमै आइपीओ जारी गर्न चाहने कम्पनी लगायतसँग मोटो रकम घूसबापत मागेको गम्भीर आरोपमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पनि गैरकानूनी ढंगले नागरिकता र नेपाली राहादानी प्रयोग गरिरहेको पाइएको छ । 

बोर्डका अध्यक्ष हमालले पनि रवि लामिछानेले झै त्याग गरिसकेको नागरिकतालाई नै प्रक्रिया नै पूरा नगरी प्रयोगमा ल्याएर विवादास्पद काम गरेका स्रोतको दाबी छ । 

उनी नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिई लामो समय उतै विजिनेश गरी बसेका थिए । तर, धितोपत्र बोर्डको अध्यक्षमा लाइन मिलेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको आग्रहमा नेपाल आएका उनले विदेशी नागरिकता छाडे पनि प्रक्रिया नै पूरा नगरी पुरानै नेपाली नागरिकता प्रयोग गरेको आरोप लागेको हो । 

यस्तै, प्रकरणमा अदालतको आदेशपछि रवि लामिछानेको सांसद, उपप्रधान तथा गृहमन्त्रीको पद गइसकेको छ । तर, समान प्रकरणमा मुछिएका बोर्ड अध्यक्ष हमालमाथि कारबाही हुन्छ या हुँदैन त्यो प्रतिक्षाको विषय बनेको छ । 

हमाल लामो समयसम्म नेपाल छाडेर थाइल्याण्डमा बसेका थिए । उनले त्यहाँको स्थायी आवासीय सुविधा र नागरिकता लिएका थिए । त्यहाँ उनले व्यापार व्यवसाय सञ्चालन गर्दै आएका थिए । 

तत्कालीन धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथि सर्वोत्तम सिमेन्टको आइपीओ बुक बिल्डिङ विधिबाट जारी गर्न दिने प्रपञ्च मिलाउनका लागि गैरकानूनी ढंगले ‘गोल्डेन सेयर’ लिएको प्रकरणमा कारबाहीको डण्डा बर्सिएपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको आशिर्वादमा हमाल बोर्ड अध्यक्ष बनेका थिए । उनले बोर्ड अध्यक्षमा नियुक्ति लिनुअघि रवि लामिछानेले नै पुरानै नागरिकता प्रयोग गरेका थिए । प्रक्रिया भने पूरा गरेका थिएनन् । 

हमालले पछिल्लो दिनमा काभ्रेपलाञ्चोक जिल्लाको पात्लेखेतमा दुसित थानी हिमालयन रिसोर्ट खोलेका छन् । यो रिसोर्ट नेपालसहित थाइल्याण्ड, अमेरिका, चीन, सिंगापुर, कतारलगायत १६ वटा मुलुकमा खोलिएका छन् । यही रिसोर्टका लागि लगानी अपुग भएको भन्दै उनले सेयरबजारबाट गैरकानूनी ढंगले बिचौलिया र दलाल प्रयोग गरी पैसा असूलीको धन्दा सञ्चालन गरेका गम्भीर आरोप लागेको छ । 

प्रमाणसहितका बग्रेल्ती उजुरीहरु परेपछि त्यस सम्बन्धमा उनलाई अर्थमन्त्रालयले स्पष्टीकरण सोधिसकेको छ । यो क्रममा उनको नागरिकताको विषयमा समेत उजुरी परेको अर्थस्थित स्रोतले जनाएको छ । पैसा असूलीका आरोपहरुसँगै नागरिकताको गलत ढंगले प्रयोग गरेको आरोपको विषयमा समेत तालुकदार निकायलाई भनेर छानबिन थालिएको अर्थका एक अधिकारीले जानकारी दिए । 

‘प्रारम्भिक छानबिनको क्रममा उहाँले गलत ढंगले बिचौलियाहरु प्रयोग गरी पैसा असूलीको धन्दा सञ्चालन गर्नुभएको लगभग पुष्टि भइसकेको छ । नागरिकताको विषय पनि आएकोले यसलाई पनि हेरिरहेका छौं ।’ अर्थका एक अधिकारीले भने–‘यति संगीन आरोप लागेपछि हमालजीले राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्दा राम्रो हुने थियो ।’ 

तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको बहिर्गमनपछि हमाललाई शंकर ग्रुप, बिचौलिया दीपक भट्ट लगायतको जोडमा धितोपत्र बोर्डमा नियुक्ति दिलाइएको थियो । सो क्रममा हमाललाई बोर्ड अध्यक्ष बनाउन अन्य व्यापारिक घरानाहरुले समेत दवाबहरु दिएका थिए । 

नियुक्तिको केही समयपछि ‘बजार सुधारक’को छवि बनाएका उनलाई कतिपयले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग समेत तुलना गरेर हेर्ने गरेका थिए । लगानीकर्ताले पनि अपार साथ दिएका थिए । तर, हमालले भने यिनै साथ र विश्वासहरुमाथि धोकाधडी गरी गुपचुप कमाउधन्दा सञ्चालन गरेका आरोपहरु लागेका छन् । 

हुँदा हुँदा उनले करोडौंको डिल छुट्ने डरले नेप्सेको अधिकार क्षेत्रभित्र रहेको ब्रोकर लाइसेन्स वितरणका अधिकांश अधिकार अर्थमन्त्री शर्मालाई कन्भिन्स गरी गुपचुप नियमावली नै परिवर्तन गरिदिएका थिए । सम्भावित ब्रोकर कम्पनीहरुबाट मोटो रकम चुनाव खर्चको नाममा उठाएर तत्कालीन अर्थमन्त्रीसम्म पुर्याइएको थियो । 

त्यति मात्र होइन, नेपालमा गरिएको डिल लिक हुन्छ भन्ने तर्कसहित बिचौलिया दीपक भट्टलाई भेटेर नयाँ स्टक एक्सचेञ्जको अर्बमाथिको डिलमा हमाल सहभागी भएका थिए । यस्तो डिल गर्नैका लागि उनी गुपचुप भारत पुगेका थिए । यस विषयमा समाचार बिजशालाले सोही बेला पर्दाफास गरेको थियो । नयाँ स्टक एक्सचेञ्जका लागि शंकर ग्रुपले भट्टलाई हमालसँग डिल गर्न पठाएको स्रोतको दाबी छ । त्यसका अन्य व्यापारिक घरानाहरुको समेत सपोर्ट थियो । 

नागरिकताको विषयमा बाहिरिएको नयाँ विवाद बारे बुझ्न हमाललाई फोन गर्दा आफू एउटा मिटिङमा भएको र पछि कल गर्ने जवाफ दिए।