काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन) आज जेठ २५ गतेबाट ३१ औँ वर्षमा प्रवेश गरेको छ। 

वार्षिकोत्सवका अवसरमा आज सेबोनले आफ्नो आगामी लक्ष्य तथा प्राथमिकता सार्वजनिक गरेको छ। धितोपत्र बजार र वस्तु विनिमय बजारलाई विकास तथा विस्तार गर्दै विश्वसनीय, स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउन निरन्तर रुपमा कार्य गरिरहेको सेबोनले जनाएको छ। 

यस्ता छन् सेबानका आगामी लक्ष्य तथा प्राथमिकता 

  • धितोपत्र तथा वस्तु विनिमय बजारको विकास गरी आईओएससीओको मापदण्डअनुरुपको बनाउँदै लैजाने,
  • लगानीकर्ताहरुको हकहित संरक्षणका लागि धितोपत्रसम्बन्धी कानुनविपरीत कार्य गर्ने संस्था तथा व्यक्तिलाई कारबाहीको दायरमा ल्याउने,
  • बोर्डबाट सम्पादन गरिने कार्यहरुलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाई छिटोछरितो सेवा प्रवाह गर्ने एवं विद्यमान जनशक्तिको क्षमता विकासका लागि उच्चस्तरीय तालिम प्रदान गर्ने साथै भौतिक पूर्वाधार विकास गर्ने,
  • विश्वस्तरीय प्रविधि एवं प्रविधि सञ्चालनमा चाहिने जनशक्ति तयार गरी सुपरिवेक्षण प्रणालीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित रेगटेकमार्फत चुस्त–दुरुस्त बनाई बजारमा चलखेल एवं अनुचित क्रियाकलापलाई निरुत्साहन गर्ने, 
  • बोर्डमा धितोपत्र दर्ता तथा अनुमतिका लागि पेस भएका निवेदनहरुलाई मिरेट बेस्ड फाइल अप्रुभल सिस्टमका आधारमा प्रक्रिया अगाडि बढाउने,
  • बुक बिल्डिङ प्रणाली दिगो एवं पारदर्शी रुपमा सञ्चालनमा ल्याउनका लागि अन्तर्राष्ट्रिय रुपमा प्रयोगमा रहेको अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम तयार गरी दिगो र स्थापित वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा भित्रयाउने,
  • सार्वजनिक निष्कासनमा स्वच्छ तथा पारदर्शी प्रणाली लागू गरी ठूलठूला युलिलिटी कम्पनीहरु र व्यावसायिक रुपमा सफल तथा स्थापित अन्य कम्पनीहरुलाई धितोपत्र बजारमा सूचीकरण गराई सीमा सर्वसाधारणको स्वामित्व बढाउनुका साथै बजार विस्तार तथा सन्तुलन मिलाउने,
  • पर्याप्त पुँजी नभएका उद्यमी तथा नवप्रवर्तकका लागि प्राईभेट इक्विटी तथा भेञ्चर क्यापिटलको माध्यमबाट पुँजी तथा व्यवसयिक ज्ञान परिचालन गर्न सक्ने गरी अनुमतिपत्र प्रदान गरी समग्र अर्थतन्त्र चलायमान बनाउने,
  • साना तथा मझौला उद्यमहरुको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्मका लागि आवश्यक कानुनी व्यवस्था मिलाई व्यवसायिक कृषिजन्य उद्यमलाई पुँजीबजारमा आबद्ध गर्ने, 
  • वस्तु विनिमय बजार सञ्चालन व्यवस्था मिलाउने,
  • बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने,
  • बजार सहभागीहरुको व्यवसायिक तथा कार्य क्षेत्र एवं स्तर अभिवृद्धि गर्ने, 
  • प्रदेशस्तरमा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी जनचेतना अभिवृद्धिसहित समष्टिगत वित्तीय साक्षरता सुदृढ गर्दै जाने ।

यसका साथै समग्रमा बजारको विकास तथा विस्तार गर्ने, कानुनी संरचनामा सुधार गर्ने, संस्थागत तथा नियमन क्षमता सवलीकरण गर्ने, अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षणमार्फत् स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्ने कार्यलाई सेबोनले प्राथमिकतामा राखेको छ।