काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्रलाई टी प्लस टू कायम गरेको छ । 

बोर्डका सहप्रवक्ता रुपेश केसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कारोबारको राफसाफ तथा फछ्र्यौट चक्रलाई टी प्लस टू कायम गरिएको जानकारी दिएका हुन् । 

नेपालको धितोपत्र बजारमा भइरहेको प्रविधिको बढ्दो प्रयोग तथा अन्तर्राष्ट्रिय अभ्यासलाई दृष्टिगत गरी धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट प्रणाली टी प्लस टूमा गर्ने बोर्डको आ.व. २०७७।७८ को नीति तथा कार्यक्रममा रहेको र सो कार्यान्वयनमा ल्याउन सिडिएस एण्ड क्लियरिङ्ग लिमीटेडले आफ्नो विनियममा भएको हालको टी प्लस थ्रीलाई टी प्लस टूमा ल्याउने गरी संशोधन स्वीकृतिका लागि बोर्डमा पेश गरेकोमा बोर्डले धितोपत्र कारोवारको राफसाफ तथा फछ्र्यौट चक्र टी प्लस टू गर्ने गरी धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ मा सो प्रयोजनका लागि विनियममा संशोधन स्वीकृति गरेको हो । 

सो व्यवस्था सिडिएस एण्ड क्लियरिङ्ग लिमीटेडले सार्वजनिक सूचना प्रकाशित गरी कार्यान्वयनमा ल्याउने व्यवस्था गरिएको बोर्डले जनाएको छ । 

धितोपत्र कारोवारको राफसाफ तथा फछ्र्यौट चक्र छोटिई टी प्लस टू कायम भएसँगै धितोपत्रको तरलतामा बृद्धि भई बजार थप गतिशील हुने तथा लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने बोर्डको अपेक्षा रहेको छ ।

यसअघि प्रकाशित समाचार:
माघदेखि २ दिनमै सेयर सेटलमेन्ट, फण्ड अभावले बजार प्रभावित हुनसक्ने