काठमाण्डौ । धितोपत्र बोर्डले मंगलबार ५१ वटा कम्पनीको सूची सार्वजनिक गर्दै तिनीहरुको सेयरमा लगानी जोखिमयुक्त हुने भनेपछि यसको सर्वत्र विरोध भइरहेको छ । 

धितोपत्र बोर्डको उद्देश्य ठीक भए पनि तरिका गलत भएको भन्नेहरु धेरै देखिएका छन् । कुनै कम्पनीमा गलत चलखेल भएर मूल्य बढाउने खेल हुन्छ भने त्यसको गोप्य रुपमा अनुसन्धान गरेर त्यस्ता खेलमा संलग्नहरुलाई कारबाही गर्नुको साटो धितोपत्र बोर्ड आफैंले कम्पनीहरुको नामै नै तोकेर ‘लगानी जोखिमयुक्त छ’ भनिदिएपछि बोर्ड नेतृत्वप्रति लगानीकर्ता आक्रोशित छन् । उनीहरुले बोर्डले ‘कच्चा काम’ गरेको भन्दै तीव्र आलोचना गरिरहेका छन् । 

अरु व्यक्ति तथा निकायलाई सर्कुलर ट्रेडिङ गर्न नहुने शिक्षा दिने पूँजीबजारको नियामक धितोपत्र बोर्डले नै सर्कुलर ट्रेडिङकै शैलीमा कम्पनीहरुको सूची तयार गरेपछि यसले बजारमा तरंग ल्याएको छ । बोर्डको यो कदमका कारण बुधबार बजार ५२ अंकले घटेको छ । 

निकै उत्साहका साथ अगाडि बढिरहेको सेयर बजारमा बोर्डको कदमले ब्रेक लागेको छ । लगानीकर्ता निराश देखिएका छन् । अझ पछिल्लो समय बजार प्रवेश गरेका नयाँ लगानीकर्ता हतास मनस्थितिमा छन् । 

बोर्डको पछिल्लो विवादित कदममा केन्द्रीत रहेर बिजशाला संवाददाता अर्जुन तिमिल्सिनाले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानासँग संक्षिप्त कुराकानी गरेका छन् ।

अनुसन्धानकै क्रममा रहेका कम्पनीहरुको सूची नै बोर्डले निकालेपछि यो निकै विवादित बन्न पुग्यो नि ? छानबिन गरेर पुष्टि भएपछि तत् कम्पनी र चलखेलमा संलग्नलाई कारबाही गरेको भए हुँदैन थियो ?
-अहिले सेयर बजारमा २२५ कम्पनी कारोबारमा छन्, जसमा सबैको हैसियत बराबर छैन । हामीले वित्तीय विवरण हेरेर सचेत मात्रै गराएका हौं । 
केही समयअघि हामीले बिज्ञप्ति निकालेर समेत सचेत गराएकै थियौं, तर त्यसले काम गरेन । त्यसपछि पनि चलखेल नरोकिएपछि हामीले विवरण नै सार्वजनिक गरिदिएका हौं । तपाईले खसीबजारमा गएर हेर्नुभयो भने पाठाको मूल्य र खसीको मूल्य बराबर हुन्न नि । तर, हाम्रो सेयर बजारमा त्यस्तै भइदियो । खसी र पाठाको मूल्य समान कहीँ हुन्छ ? यहीकारण हामीले सर्वसाधारणलाई सचेत गराउन यो कदम उठाएका हौं । अहिले बजारमा धेरै नयाँ लगानीकर्ता आएका छन्, उनीहरुमा केको आधारमा लगानी गर्ने भन्ने ज्ञान छैन । हामीले नयाँ र साना लगानीकर्ता सचेत होउन् भनेर पनि यो काम गरेका हौं । 

अहिले बजारमा ७०  प्रतिशत नयाँ लगानीकर्ता छन् भने ३० प्रतिशत पुराना छन् । ती नयाँ तथा साना लगनीकर्ता आफ्नो हैसियतभन्दा बढी ऋण लिएर, हौसिएर कारोबार गरिरहेका छन् । भोलि बजारमा गिरावट आएपछि बाँध फुस्किन्छ र सोझा फस्छन् । अहिले बजारमा नाफा हुँदो रहेछ भनेर गरगहना राखेर सेयरमा लगानी गरेका छन् । हाम्रो उद्देश्य नै नयाँ र सोझा लगानीकर्तालाई सचेत गराउनु हो । के एउटा नियामकले सर्वसाधारणलाई सचेत गराउन पनि नपाउने ?

केही राम्रा कम्पनी जस्तै नेपाल लाइफ र खानीखोला एउटै समूहमा पर्ने कम्पनी हुन् र ? यस्ता सवल र दुर्वल कम्पनीलाई एउटै डालोमा राखेर जोखिमयुक्तभ न्न पाइन्छ त अध्यक्ष ज्यू ?
-हामीले यो सबै काम एउटा वित्तीय आधारमा गरेका छौ । त्यो मापदण्डभित्र परेका कम्पनीलाई फाइनान्सियल बित्तिय बिबरणको आधारमा पारिएको हो । कुनै खराब नियतले होइन । तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार गरेका हौं । चौथो त्रैमासको वित्तीय विवरणमा प्रगति गरे भने मूल्य आफैं माथि गइहाल्छ नि । 

अमेरिकामा त यस्ता केही कम्पनीको  कारोबार बन्द नै भयो । हामीलाई सबै अधिकार छ, तर सजिलो छैन । यहाँ कसैलाई सेयर किन्न कसैले रोक्न सक्दैन । मुख्य बिषय अहिले जुन छलफल चल्यो त्यो निकै राम्रो भएको छ । यो खासमा हामीले सेयर शिक्षा दिएको पनि हो । एउटा नियामक निकायले जोखिम छ भन्न त पाउन पर्यो नि !

तपाईहरुले सार्वजनिक गर्नुभएको सूचीमा परेका कम्पनीहरुको कारोबारमा थप अनुसन्धान के हुन्छ ? कि यत्तिमै सीमित हुने हो?
-अहिले ग्रामीण क्षेत्रका नवप्रवेशीलाई हामीले सचेत गरायौं । तर, सेयर बजारमा सधैं यस्तो भइरहन्न । अवस्थाको मूल्याङ्कन गरेर जस्तोसुकै कदम चाल्न पनि हामी तयार छौं । अहिले सबैले कमाएको मात्रै छन् । बजारमा सधैं यस्तै हुन्छ त ? हुँदैन नि । हाम्रो कार्य स्टेप बाई स्टेप अगाडि बढेको छ । बोर्डलाई सबै अधिकार छ।

तपाईहरुले गरेको कामको विषयमा बजारको फ्रन्टलाइन रेगुलेटर नेप्सेले त काउण्टर दियो नि ?
-यसमा म अहिले धेरै बोल्दिँन, यो बिषमा म नेप्सेको सीइओसँगै सोधौंला, बुझौला । नेप्से पनि ब्यवसायिक मर्यादाभित्र बस्नुपर्छ । उहाँ(चन्द्र साउद)ले किन बोर्डको कामको विरोध गर्नुभयो, सोधेपछि भनौंला । उहाँले त्यसरी नबोलेको भए हुन्थ्यो । 

कतिपयले त बोर्डको कदमबाटै आफूहरुको लगानी असुरक्षामा पर्यो पनि भनिरहेका छन् नि ?
-निदाएको व्यक्तिलाई सजिलै उठाउन सकिन्छ, तर निदाएको नाटक गर्नेलाई उठाउन गाह्रो छ । मैले अघि पनि भनेँ नि व्यवसाियक मान्छेले यसो भन्दैन । अहिले सेयर बजारमा ७० प्रतिशतले हाम्रो कार्यको प्रशंसा गरेका छन् । हामीलाई नराम्रो गर्यो भन्नेहरु अरुलाई फसाउने खालका मान्छे हुन् । यिनीहरु निकै बाठा मान्छे हुन् । हामीले सर्वसाधारणलाई बचाउने हो र कानूनले दिएको गर्ने नै हो । जस्तो केही समयअघि हामीले एओएनबाट हुने चलखेल पनि रोक्यौं । सबै काम प्रक्रिया मिलाएरै गरेका छौं । हाम्रो मुख्य उद्देश्य नै सोझा सर्वसाधारण नडूबुन् भन्ने हो ।