काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा गैरकानूनी ढंगबाट कर्मचारीहरुको भर्ति गर्ने प्रयास थालिएको छ । योसँगै नक्कली प्रमाणपत्रको भरमा आफन्तलाई जागिर खुवाउने प्रयास समेत सुरु भएको छ ।  

प्राधिकरणमा मौजुद कर्मचारीहरुको सेवा, शर्त र सुविधा सम्बन्धी नियमावली २०५६ को २०६९ साल कात्तिक २६ गतेको १२ औं संसोधनबाट गरिएको व्यवस्था विपरीत केही पदहरुमा भर्नाका लागि आवेदन मागी नीतिगत भ्रष्टाचार सुरु गरिएको हो । 

नियमावलीमा उल्लेख भएको विभिन्न पदहरुको पूर्तिका लागि गरिएको व्यवस्थाको ठाडो बर्खिलाप गर्दै प्राधिकरणले २०७१ साल माघ १७ गते कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशन गरेको पाइएको छ । प्राधिकरणले सो मितिमा गोरखापत्रमा सूचना प्रकाशन गरी ११ औं तहका ६ जना निर्देशकसँगै सहायक दोश्रो तहको पदका लागि २० जना जनशक्ति मागेको थियो । २० मध्ये ११ जना खुल्ला, ३ महिला, २ आदिवासी जनजाति, २ मधेशी, १ दलित र १ अपांगका लागि कोटा छुट्याइएको थियो । विज्ञापन नम्बर १३४/०७१/०७२ रहेको सो सूचनामा उल्लेख भए अनुसार सहायक दोश्रो तह(हेल्पर)का लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट दशम कक्षा उतीर्ण गरेको र नागरिक उड्डयन प्राधिकरणको सेवासँग सम्बन्धित कुनै पनि बिषयमा कम्तीमा एक महिनाको प्राविधिक तालिम लिएको हुनुपर्ने उल्लेख गरिएको थियो । 

०७१ माघमा निकालिएको आवश्यकता सम्बन्धी सूचना । 

............................................................................................................................

कर्मचारीहरुको सेवा, शर्त र सुविधा सम्बन्धी नियमावली २०५६ को २०६९ साल कात्तिक २६ गतेको १२ औं संसोधनमा भएको व्यवस्था अनुसार सहायक दोश्रो पदमा आवश्यक जनशक्ति पूर्ति गर्नुपरेमा खुल्ला प्रतियोगिता गर्न नपाइने बरु, सोझै विशेष बढुवाद्वारा पद पूर्ति गर्नुपर्ने स्पष्ट लेखिएको छ । नियमावलीमा खुल्ला प्रतियोगिताको आह्वान गर्न नपाइने भनिए पनि प्राधिकरणका उच्च पदाधिकारीहरुको मिलेमतोमा आफ्ना मान्छे भर्ना गर्ने उद्देश्यले गैरकानूनी काम भएको र यो पदमा गैरकानूनी ढंगबाटै मानिस भर्तिको अन्तिम तयारी भइरहेको प्राधिकरणस्थित उच्च स्रोतले बिजशालालाई बताएको छ । 

जागिर खान नक्कली सर्टिफिकेट !
प्राधिकरणका उच्च पदाधिकारी तथा कर्मचारीहरुले आफ्ना मान्छेलाई सहायक दोश्रो तहको पदमा भर्ति गर्नका लागि विभिन्न प्राविधिक संस्थाहरुबाट नक्कली अनुभवको प्रमाणपत्र र कतिपयको नक्कली एसएलसीको प्रमाणपत्र बनाएर समेत पेश गर्न लगाइरहेका स्रोत दाबी गर्छ । ‘यो पदका लागि पेश भएका अधिकांश अनुभवको प्रमाणपत्र फर्जी छन्, यसमा अख्तियारले छानबिन गर्नुपर्छ ।’ एक स्रोतले भन्यो–‘जागिर खान ठिक्क  परेर बसेकाहरुले पेश गरेका शैक्षिक प्रमाणपत्रमा पनि केही नक्कली रहेका छन् ।’ 

नक्कली प्रमाणपत्रहरुको आधारमा प्राधिकरणमा आफन्तलाई भर्ति गर्न खोजिएको उल्लेख गर्दै त्यहाँका कर्मचारीहरुले सो बिषयमा छानबिन गर्न अख्तियारसँग मौखिक आग्रह गरेका समेत बुझिएको छ । 

यो पदको परीक्षा साउन २९ गते हुने भनिए पनि आफन्तहरुलाई भर्ति गर्न अप्ठ्यारो भएको भन्दै आगामी शनिवारका लागि परीक्षा सारिएको समेत स्रोतले जनाएको छ । 

विज्ञापनपछि नियमावली संसोधन गरी चलखेल !


कर्मचारी नियमावलीमा आवश्यकताको विज्ञापन निकाल्दा रहेको भर्ना सम्बन्धी व्यवस्था । 

.....................................................................................................................................

प्राधिकरणका प्रशासन प्रमुख महेश्वर दवाडीले १२ औं संसोधनमा रहेको व्यवस्था विपरीत सहायक दोश्रो तहको पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने भन्दै किन विज्ञापन गरियो भन्ने प्रश्न गर्दा नियमावलीको १५ औं संसोधन आइसकेको र सो संसोधनले १२ औं संसोधनमा उल्लेख सहायक दोश्रो तहमा पद पूर्ति सम्बन्धी व्यवस्था हटाएको दाबी गरे । नियमावलीको १५ औं संसोधन भने ०७२ सालमा भएको देखिएको छ । ०७२ सालमा भएको संसोधित व्यवस्था ०७१ साल माघ १७ गते गरिएको विज्ञापनमा कसरी लागू हुन्छ भन्दा उनले जवाफ दिएनन् । 

यसरी हेर्दा ०७१ माघ १७ गते प्रकाशित विज्ञापनमा नियमावली विपरीत सहायक दोश्रो तहमा भर्तिको शर्त राखिएको छ । ‘नियमावलीको संसोधन हुनुअघि नै गरिएको विज्ञापनमा त्यही बेलाको शर्त राखिएको हुन्छ र सोही अनुसार कर्मचारीको पद पूर्ति हुनुपर्छ ।’ एक कानून व्यवसायीले भने–‘तर यहाँ कर्मचारी नियमावलीको बुँदामा खेलेर राम्रै चलखेल गर्न खोजिएको देखिन्छ । यो गलत हो, सम्बद्ध निकायले छानबिन गरुन् ।’ 

ती कानून व्यवसायीले समेत नियमावलीको अपव्याख्या गर्दै प्राधिकरणमा ठूलो चलखेल भएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पर्यटन मन्त्रालयबाट समेत छानबिन हुनुपर्ने माग गरे ।