काठमाण्डौ । फर्जी पाइलट लाइसेन्स प्रकरणमा विश्वका १८८ देशमा पाकिस्तानबाट सञ्चालित एयरलायन्समा उडान प्रतिबन्ध लाग्न सक्ने सम्भावना बढेर गएको छ।

पाकिस्तानी मिडियाहरुका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईसीएओ) ले तोकेको अन्तर्राष्ट्रिय मापदण्डको पालना नहुनु र पाइटल लाइन्सेन्स वितरणमा घोटाला हुनुले पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) मा ती देशहरुले प्रतिबन्ध लगाउने सम्भावना बढेको हो। यही कारणले यसअघि नै बेलायत र युरोपियन युनियनले पीआईएको उडानमा प्रतिबन्ध लगाइसकेका छन्। 

गत अगस्टमा पाकिस्तानको नागरिक उड्डयन मन्त्रालयले २६२ जनालाई फर्जी कागजपत्रका आधारमा पाइटल लाइसेन्स लिएको खुलासा गरेको थियो । तीमध्ये १४६ जना पीआईएमा कार्यरत रहेका छन्। 

यस्तो खुलासा भएसँगै आईसीएओले पाकिस्तान नागरिक उड्डयन प्राधिकरणलाई उड्डयन सुरक्षा मुद्दामा गम्भीर प्रश्न उठाउँदै चेतावनीपत्र दिइसकेको छ।  पत्रमा लाइसेन्स वितरण प्रक्रियासँग जोडिएका प्रशिक्षणको अन्तर्राष्ट्रिय मापदण्ड पालाना गर्न पाकिस्तान असफल रहेको उल्लेख छ । यही कारणले पाकिस्तानबाट हुने उडानहरु १८८ देशहरुमा प्रतिबन्ध लाग्न सक्ने चेतावनी पत्रमा दिइएको छ। 

यो चेतावनीसँगै पाकिस्तानको उड्डयन क्षेत्रमा गम्भीर असर पर्ने देखिएको छ। यद्यपि यस विषयमा सम्बन्धित निकायले ध्यान नदिएको पाकिस्तानी अधिकारीहरु नै बताउँछन्। – एजेन्सी