काठमाण्डौ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले भर्खरै आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। जसबाट आर्थिक वर्ष २०२१–२२ मा बैंकिङ क्षेत्रले बरामद गरेका नक्कली नोटको भयावह तथ्यांक बाहिरिएको छ। 

बरामद नयाँ डिजाइनका ५०० रुपैयाँका नक्कली नोटको संख्या वार्षिक रुपमा १०२ प्रतिशतले बढेको छ। त्यसपछि अन्य दरका नक्कली नोट जोड्दा अर्थतन्त्रलाई करोडौँ घाटा पुगेको प्रतिवेदनमा उल्लेख छ। 

प्रतिवेदनअनुसार बैंकिङ क्षेत्रले सन् २०२१–२२ मा ५०० दरका ७९ हजार ६६९ नक्कली नोट बरामद गरेको छ। गत आर्थिक वर्ष २०२०–२१ मा यो संख्या ३९ हजार ४५३ मात्र थियो। सन् २००८ मा नोटबन्दीका बेला बन्द गरिएका ५०० रुपैयाँका पुराना डिजाइनका १४ नक्कली नोट पनि बरामद भएका छन्। यी सबै जोड्दा ३ करोड ९८ लाख ४१ हजार ५०० रुपैयाँबराबरको नक्कली नोट बरामद भएको छ।

भारत सरकारले ५०० दरका नयाँ नोटसँगै २ हजार दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। यो वर्ष बैंकिङ क्षेत्रमा पनि २ हजार दरका १३ हजार ६०४ नक्कली नोट बरामद भएको प्रतिवेदनमा जनाइएको छ। जसअनुसार कुल २ करोड ७२ लाख ८ हजार रुपैयाँबराबरको २ हजार दरका नक्कली नोट बरामद भएका छन्। 

आर्थिक वर्ष २०२१–२२ मा भारतमा ५०० र २ हजार दरका नक्कली नोटमात्रै बरामद भएका होइनन्। १० देखि २०, ५०, १०० र २०० दरका नक्कली नोट पनि बरामद भएका छन्। यी सबैसहित बैंकिङ क्षेत्रले जम्मा २ लाख ३० हजार ९७१ नक्कली नोट बरामद गरेको छ। जसका कारण भारतीय अर्थतन्त्रलाई कुल ८ करोड २५ लाख ९३ हजार ५६० रुपैयाँ नोक्सानी भएको छ। 

आरबीआईको प्रतिवेदनअनुसार पुलिस, ईडी वा कुनै अन्य अनुसन्धान एजेन्सीले बरामद गरेका नक्कली नोट भने यो तथ्यांकमा समावेश नगरिएको स्पष्ट पारेको छ। यो हिसाबले नक्कली नोटबाट भएको क्षतिको लगत अझै बढ्ने अनुमान गरिएको छ। –एजेन्सी