काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नगद लाभांश सेयरधनीहरुको बैंक खातामा पठाउँदा स्पष्ट खुल्ने आवश्यक विवरण पठाउन सूचीकृत कम्पनीहरुलाई निर्देशन दिएको छ।

सेबोनले आज सूचीकृत संगठित संस्थाहरुको नाममा एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो। सूचीकृत कम्पनी आफैँ वा आफ्नो सेयर रजिस्ट्रारमार्फत सेयरधनीको बैंक खातामा नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रुपमा कम्पनीको नाम, आर्थिक वर्ष, लाभांश दर आदि खुल्ने गरी पठाउन सेबोनले निर्देशन दिएको छ।

यस कार्यलाई सहजीकरण गर्न नेपाल क्लियरिङ हाउसले हालै तोकिएको ढाँचामा अनिवार्य रुपमा सूचित गर्नुपर्ने विषयहरु स्पष्ट रुपमा खुलाई पठाउने व्यवस्था गर्न पनि सेबोनले निर्देशन दिएको छ। 

यसअघि सूचीकृत कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई प्रदान गरेको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा आफैँ जम्मा गर्दा र आफ्नो सेयर रजिस्ट्रारमार्फत बैंक खातामा जम्मा गराउँदा बैंक स्टेटमेन्टमा उक्त सेयर रजिस्ट्रारको नाममात्र आउने गरेको छ। तर कुन कम्पनीको लाभांश हो, कुन आर्थिक वर्षको कुन दरको लाभांश हो भन्ने स्पष्ट हुन नसकेको र हिसाबकिताब राख्न सहज नभएकोलगायतका व्यहोराको गुनासो आएपछि सेबोनले यस्तो निर्देशन दिएको हो।