काठमाण्डौ । नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीचको मर्जर प्रक्रिया अगाडि बढ्ने भएको छ।
नबिल र एनबी बैंकबीचको मर्जरविरुद्ध सर्वोच्च अदालतमा परेको रिट फिर्ता भएसँगै यो प्रक्रियाले फेरि निरन्तरता पाउने भएको हो।
यसअघि सर्वोच्च परेको रिटमा एकल इजलासले तत्काल मर्जर अगाडि नबढाउन आदेश दिँदै दुवै पक्ष छलफलमा डोकेको थियो।
त्यसपछि यो मुद्दा संयुक्त इजलास पुगेको थियो। यो मुद्दाको पेस आज बिहीबारलाई तोकिएको थियो। न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सुष्मलता मानन्धरको संयुक्त इजलासमा सुनुवाइ हुने भनिएको थियो। तर, सुनुवाइ सुरु नहुँदै रिट निवेदकले मुद्दा फिर्ता लिएपछि मर्जर प्रक्रियाले निरन्तरता पाउने भएको हो।
दिवेश्वरी इन्भेस्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनीले मर्जरविरुद्ध छुट्टाछुट्टै रिट दर्ता गरेका थिए। रिटमा नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड (सेबोन), नबिल बैंक, एनबी बैंक र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाइएको थियो।
नबिल र एनबी बैंकबीचको मर्जर प्रक्रियाका लागि राष्ट्र बैंकले सैद्धान्ति स्वीकृति दिइसकेको छ। अन्तिम स्वीकृति लिनुअघि दुवै बैंकले विशेष साधारणसभा जेठ ७ गते (शनिबार) डाकेका छन्। सोही सभामार्फत यी दुवै बैंकले आपसमा मर्जरमा जाने प्रक्रियालाई अनुमोदन गर्नेछन्।
नबिलले प्रतिकित्ता ४३ रुपैयाँका दरमा एनबी बैंकलाई प्राप्ति गर्न लागेको हो। मर्जरपछिको बैंक देशकै दोस्रो ठूलो पुँजी कोष भएको बैंक हुनेछ।
मर्जर प्रक्रिया टुंगिएपछि नबिल बैंककै नामबाट एकीकृत कारोबार हुनेछ। जेठभित्र मर्जर सकेर एकीकृत कारोबार गर्ने बैंकको योजना छ।
14 minutes ago
26 minutes ago
53 minutes ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago