काठमाण्डौ । महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यसहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन)बीच साझेदारी गरिएको छ। 

साझेदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका तर्फबाट अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका छन्। यो समझदारीअन्तर्गत नबिल बैंकले आफ्नो बैंकको शाखा कार्यालयहरुमा महिला उद्यमीका उत्पादनका लागि स्टल उपलब्ध गराउने भएको छ। 

एफविनअन्तर्गतका महिला उद्यमीलाई नबिल बैंकको नबिल सामाजिक उद्यमशीलता (एनएसएसई) कार्यक्रमसम्बन्धी जानकारी तथा तालिममा सहभागी गराउने साझेदारीमा उल्लेख छ।

समझदारीअनुसार पहिलो चरणमा एफविनले हरेक महिना एकपटक नबिल बैंकको केन्द्रिय कार्यालयमा स्टलहरु लगाउनेछ। यो स्टलहरुमा नेपाली उद्यमीद्वारा उत्पादित उत्पादनहरु रहनेछन्। यस प्रकारको नेपाली उत्पादनहरुले नबिलका कर्मचारी र यसका ग्राहकहरुको नेपाली उत्पादनहरुप्रति सकारात्मक व्यवहार परिवर्तन गर्न मद्दत गर्ने अपेक्षा राखिएको छ। वित्तीय पहुँच, उद्यमशीलता र वित्तीय साक्षरता तालिमले महिला सशक्तीकरणलाई बढावा दिने विश्वास राखिएको छ। 

साझेदारीअन्तर्गत दिगो विकासका १, ५, ८ र १७ नम्बरका लक्ष्यहरु समेटिने छन्।

नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङको सुरुआत गरेको हो। सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ सेवा बैंकले हाल १०० शाखामा विस्तार गरेको छ।