काठमाण्डौ। जुम्ला जिल्लाको तिला गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ सुरु भएको उद्यमशिलता विकास र वित्तीय साक्षरतासम्बन्धी ६ दिने तालिम कार्यक्रम समापन भएको छ। 

यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो। तिला गाउँपालिकाका अध्यक्ष रतन नाथ योगीको अध्यक्षता सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्वराज्यमन्त्री बलबहादुर महत, विशेष अतिथिका रुपमा नबिल बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र अन्य विशिष्ट व्यत्तित्वहरुको उपस्थिति रहेको थियो। 

महिलाहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा उनीहरु तालिममा मात्र सहभागी नभएर घरपरिवारका सदस्यहरुलाई समेत तालिममा सहभागी गराएका थिए। 

कार्यक्रममा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र रँेजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सधैँ तत्पर रहेको बताए। 

त्यस्तै नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले उपस्थित युवा र महिलाहरुलाई आफ्नोे क्षमतालाई कम आँकलन नगरी राम्रो उद्यमी बन्न शुभकामना दिए। नबिल बैंकबाट साना कर्जा लिएका उद्यमीहरु अहिले करोडौँको कारोबार गरिरहेको उदाहरण दिँदै उनले ठूलो सपना बोकेर स्वरोजगारमा अगाडि बढ्न आग्रह गर्दै उनले उद्यमशिलता विकास र स्वरोजगार प्रबर्द्धनमा नबिल बैंकको सधैँ साथ रहने बताए। 

जुम्लावासीको उत्साहपूर्ण सहभागिताको सम्बन्धमा नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले भने, ‘उहाँहरु सक्रिय रुपमा सहभागीमात्र नभई आफ्ना वित्तीय आवश्यकताका बारेमा पनि खुलेर चर्चा गर्नुभएको छ।’

कार्यक्रममा सहभागी हुन टाढाटाढाबाट कोही लौरो टेकेर त कोही बच्चा च्यापेरसमेत आएको देख्दा उत्साहित भएको शाक्यले बताए। त्यहाँ स्याउ, ओखर, मार्सी चामल, आरु, आलु, सिमी खेती हुने भएकोले त्यहाँका स्थानीयले ऋण सुविधा मागेको र भेडाबाख्रा पालन त्यहाँका बासिन्दाको मुख्य व्यवसाय हुन सक्ने उनले बताए। 

दिगो बैंकिङ प्रवर्द्धन गरिरहेका कारण नबिल बैंकले स्थानीयलाई आर्थिक तथा वित्तीय सहयोग गर्ने शाक्ले जानकारी दिए। 

तिला गाउँपालिकाले युवा उद्यमका लागि आह्वान गरेको सूचनाबमोजिम दरखास्त दिई छनौट भएका युवाहरुलाई  मंसिर २० गतेदेखि मंसिर २७ गतेसम्म ७ दिने तालिम प्रदान गरिएको थियो। तालिममा ६३२ जनाले आवेदन दिएका थिए। १९४ परिवारका सदस्यहरु सहभागी भएको उक्त तालिम तथा कार्यक्रममा महिलाको संख्या आधाभन्दा बढी रहेको थियो।