काठमाण्डौ। नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बंैकले महिला उद्यमीलाई लघु, साना तथा मझौता उद्यम (एसएमई) कर्जा प्रदान गर्ने भएको छ।
यसका लागि नबिल बैंकले नेपाल महिला उद्यमी महासंघसँग आज सम्झौता गरेको छ। यो सम्झौतासँगै अब बैंकले महासंघका सदस्यहरुको आवश्यकता पूरा गर्न ब्याज अनुदान र एसएमई कर्जा प्रदान गर्नेछ।
यस रणनीतिक साझेदारीमा कोभिड १९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमलाई नबिल बैंकबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासका लागि वित्तीय आवश्यकता पूरा गर्न मद्दत पुर्याउने विश्वास लिइएको छ। यसका साथै ती उद्यमीले महिला उद्यमी महासंघबाट वित्तीय सल्लाह र विकास सहयोग पाउनेछन्। यस साझेदारअन्तर्गत नबिल बैंकले वित्तीय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको छ।
नबिल बैंकको एसएमई तथा लघुवित्त शाखाका प्रमुख निरजकुमार बस्नेत (डनिल) र महिला उद्यमी महासंघकी अध्यक्ष रीता सिम्हाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। साझेदारीका बारेमा बोल्दै बस्नेतले भने ‘नबिल बैंकले महिला सशक्तीकरणलाई अत्यधिक प्रोत्साहित गर्दछ र महिला उद्यमीलाई दिगो उत्पादनमा वृद्धि र रोजगारी सिर्जनाका लागि आवश्यक सीप विकास गर्न सजिलै वित्तीय पहुँच प्रदान गर्दै महिलालाई सहयोग पुर्याउने कार्यमा अगाडि बढेको छ। हामीले महिला उद्यमी महासंघको सहकार्यमा विभिन्न प्रकारका बैंकिङ सुविधा तथा ऋणकर्जाहरू प्रदान गर्ने उद्देश्य राखेका छौँ। महासंघका सदस्यहरूको आवश्यकताअनुसार उनीहरूको व्यवसाय बढाउनका साथै देशको आर्थिक विकासमा योगदान पुर्याउन नबिल बैंक उत्साहित छ।’
यस्तै महासंघकी अध्यक्ष सिम्हाले भनिन्, ‘महिलाको पूर्ण सहभागिता बिना शान्ति, समृद्धि, प्रगति हुन सक्दैन। महिला उद्यमीलाई वित्तीय पहुँचका माध्यमबाट सहयोग गरेकोमा हामी नबिल बैंकप्रति कृतज्ञ छौंँ।’
नबिल बैंकले देशभर ११९ वटा शाखा कार्यालय, १८५ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरुसहित विभिन्न देश्मा रहेका एजेन्टको बृहत सञ्जालमार्फत निरन्तर गुनस्तरीय सेवा प्रवाह गरिरहेको छ.। एक उच्च प्रशिक्षित समूह तथा मजबुत र सुरक्षित बैंकिंङ प्रणालीका साथ तीन दशकभन्दा बढीको बैंकिङ अनुभवका साथ, नबिल बैंक ग्राहकलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणका लागि लक्षित छ।
महिला उद्यमी महासंघ एक गैर नाफामूलक संस्था हो। देशको आर्थिक प्रगतिमा महिला उद्यमीहरूको सामूहिक प्रयासको प्रतिनिधित्व गर्ने लक्ष्य महासंघले राखेको छ।
महासंघ नेपाल महिला उद्यमी संघको केन्द्रीय निकाय हो र यसको बोर्डमा २७ सदस्य छन्। महासंघले अन्ततः महिला उद्यमशीलताको दृष्टिकोणलाई आर्थिक वृद्धि र गरिबी निवारणको योगदानलाई सामाजिक आर्थिक क्षेत्रमा सबै तहमा महिलाको सहभागितातर्फ परिमार्जन गर्न खोजेको छ। अहिलेसम्म महासंघका २ हजार ५०० भन्दा बढी सदस्यता छ।
9 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago