काठमाण्डौ । नेपालको अग्रणी बैंक, नबिल बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसन्स् प्रालिबीच कृषि प्राविधिकहरुलाई आवश्कताअनुसार बंंैकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गरेर सहयोग गर्ने सम्झौता भएको छ।

बैंको एसएमई तथा लघुवित्त प्रमुख निरजकुमार बस्नेत (डनिल) र आर एन्ड डी इनोभेटिभकी अध्यक्षसुनिता न्हेम्हाफुले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। साझेदारीका बारेमा बस्नेतले भने, “नबिल बैंकले सदैव दिगो बैंकिङलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्याउने विश्वास गर्दछ। जुन नेपालको कुल ग्राह्यस्थ उत्पादनको प्रमुख योगदानकर्ता हो। हामी कृषि प्राविधिकहरुका आवश्कताअनुसार कृषि तथा पशुपालन कर्जालगायत विभिन्न बैंकिङ सुविधा र सेवाहरु प्रदान गरी कृषि प्राविधिकहरुलाई सफल कृषि उद्यमी बनाउन र देशको आर्थिक विकासमा योगदान पुर्याउन उत्साहित छौँ।’

यो साझेदारीसँगै नबिल बैंकले कृषि क्षेत्रमा उद्यमशिलता विकासका साथ प्राविधिक ज्ञानको मिश्रण गरी परम्परागत वित्तीय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नवीन सुरुआत गरेको बस्नेतले बताए। ‘नबिल बैंकले सुरु गरेको यस पहलले व्यापक रुपमा सफलता हासिल गर्दै भविष्यमा नेपालको वित्तीय लगानी प्रवृतिनै परिवर्तन गर्ने नबिल बैंक आशा राख्दछ’, उनले भने। 

न्हेम्हाफूकीले भनिन्, ‘नेपालको कृषि क्षेत्रको मुख्य समस्या मध्ये कृषि विषय अध्ययन गरेकाले नै कृषि व्यवसाय वा उद्यम सञ्चालन गर्न नसक्नु हो। तसर्थ, कृषि पढेकालाई सुलभ तरिकाले कर्जा उपलब्ध गराई उद्यमशिलता तर्फ लाग्ने वातावरण बनाउनका लागि नबिल बैंक र आर एन्ड डी इनोभेटिभले कृषि उद्यमशिलता विकासकालागि कृषि प्राविधिकहरु समक्ष वित्तीय पहुँचसहितको कृषि उद्यमशिलता विकास कार्यक्रम ल्याएको छ।’

यसका लागि आर एन्ड डी इनोभेटिभले उद्यम गर्न चाहने प्राविधिकहरुको छनौट गरी उद्यमशिलता विकाससम्बन्धी आधारभूत तालिम दिई बैंकसमक्ष सहुलियत कर्जाका लागि सिफारिस गर्नेछ। ती सिफारिस भएका प्राविधिकहरुको व्यावसायिक योजनाका आधारमा १० लाखसम्मको सहुलियत दरको कर्जा नबिल बैँकले उपलब्ध गराउनेछ। 

यस कार्यक्रमले कृषि उद्यमशिलताको दिगो विकाससँगै तिनै प्राविधिकमार्फत अन्य कृषकहरुलाई पनि प्राविधिक सेवा पुग्ने विश्वास लिइएको छ। 

यस कार्यक्रमअन्तर्गत जेटीए, जेटी, आईएस्सीएजी र बीएस्सीएजी अध्ययन गरेकाले भाग लिन सक्नेछन्। यस कार्यक्रमअन्तर्गत आगामी एक वर्षभित्रमा कम्तीमा १०० जना कृषि प्राविधिकलाई उनीहरुकै ठाउँमा उद्यम विकास गर्ने योजना रहेको छ।

नबिल बैंकले आफ्ना देशभर ११९ वटा शाखा कार्यालय, १८५ एटीएम र १ हजार ५०० भन्दा धेरै नबिल रेमिट एजेन्टसहित विभिन्न देशमा रहेका एजेन्टको बृहत् सञ्जालमार्फत निरन्तर गुनस्तरीय सेवा प्रवाह गरिरहेको छ.। एक उच्च प्रशिक्षित समूह र मजबुत तथा सुरक्षित बैंकिङ प्रणालीका साथ तीन दशकभन्दा बढीको बैंकिङ अनुभवका साथ, नबिल बैंक ग्राहकलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ।

आर एन्ड डी इनोभेटिभ सन् २०१२ देखि सञ्चालनमा आएको हो। जसको लक्ष्य नेपालका किसान समुदायहरूले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्ने रहेको छ। कम्पनीले कृषि मूल्य शृंखलाको हरेक अवयवहरूमा समस्या समाधान गर्दै माटोदेखि बिक्री मोडलमा काम गरिरहेको छ।