काठमाण्डौ । वाणिज्य बैंकहरुमध्ये अब्बल नबिल बैंकले १ वर्षभन्दा माथि समयको मुद्दति निक्षेपमा ९ प्रतिशतको हाराहारीमा ब्याज दिने भएको छ।

बैंकले असोज १ गते लागू हुने गरी निक्षेप र कर्जाको ब्याजदर आज सार्वजनिक गरेको छ। जसअनुसार बैंकले व्यक्तिगततर्फ १ वर्ष बढी समयावधिको मुद्दति निक्षेपका लागि ८.७६ प्रतिशत ब्याजदर तोकेको हो। १ वर्षको मुद्दति निक्षेपमा भने बैंकले ८.५१ प्रतिशत ब्याजदर तोकेको छ।

यसैगरी बैंकले व्यक्तिगततर्फ ३ महिने मुद्दति निक्षेपमा ६.५१ प्रतिशत, ४ महिनादेखि ६ महिनासम्मको मुद्दति निक्षेपमा ७.५१ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मको मुद्दति निक्षेपमा ८.७६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

बैंकले संस्थागततर्फ १ वर्ष र सोभन्दा बढी समयावधिको मुद्दति निक्षेपको ब्याजदर ९.०१ प्रतिशत पुर्याएको छ। बैंकले ६ महिनादेखि १ वर्षसम्मको मुद्दति निक्षेपमा ८.५१ प्रतिशत, ४ महिनादेखि ६ महिनासम्मको मुद्दति निक्षेपमा ८.०१ प्रतिशत र ३ महिनाको मुद्दति निक्षेपमा ७.५१ प्रतिशत ब्याजदर तोकेको छ।

अन्य विभिन्न बचतमा भने नबिल बैंकले ४.२६ प्रतिशतदेखि ६.२६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। 

यसैगरी बैंकले व्यावसायिकतर्फ कृषि तथा ऊर्जा क्षेत्रमा न्यूनतम ०.५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्मको प्रिमियममा कर्जा उपलब्ध गराउने भएको छ। एसएमई कर्जा भने बैंकले न्यूनतम १.७५ प्रतिशतदेखि ६ प्रतिशतसम्मको प्रिमियममा कर्जा उपलब्ध गराउनेछ। 

अन्य विभिन्न कर्जा भने बैंकले ०.५ प्रतिशतदेखि ६ प्रतिशतसम्मको प्रिमियममा उपलब्ध गराइने बैंकले जनाएको छ। 

यस्तै बैंकले रिटेल लोनअन्तर्गत विभिन्न कर्जा बैंकले ७ प्रतिशतसम्मको प्रिमियममा उपलब्ध गराउनेछ। नबिल फोन लोनको प्रिमियम भने ९ प्रतिशतसम्म तोकिएको छ। 

बैंकको आधार दर ५.५२ प्रतिशत रहेको छ।