काठमाण्डौ । मोबाइल वित्तीय सेवामार्फत वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा साकार पार्न सघाउ पुर्याउने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडमार्फत प्रदान गरिने नमस्ते पे मोबाइल वित्तीय सेवाको प्रथम चरणको व्यावसायिक सञ्चालन आजबाट सुरु गरिएको छ। 

वि.सं. २०७६ वैशाख १९ गते तत्कालीन प्रधानमन्त्रीको उपस्थितिमा नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकबीच भएको औपचारिक समझदारीको फलस्वरूप २०७७ साउन १३ मा विधिवत रुपमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी स्थापित थियो। सोही कम्पनीमार्फत आजबाट नमस्ते पे सञ्चालनमा ल्याएको हो।

सेवा शुभारम्भ कार्यक्रममा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्याल, राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष  रामशरण पुडासैनी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल टेलिकम तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख तथा सञ्चालक समितिका सदस्य तथा उच्चपदस्थ पदाधिकारीहरु, नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका अध्यक्ष राजेन्द्र अर्याललगायत सञ्चालक, डिजिटल भुक्तानीको क्षेत्रमा काम गर्ने संस्थाहरुका प्रतिनिधिलगायतको उपस्थिति थियो। 

कार्यक्रममा नमस्ते पे वालेट सेवाको लोगो अनावरण, एन्ड्रोइड मोबाइल एप अनावरण तथा ५०० सर्टकोड  यूएसएसडीबाट सो सेवा प्रयोग समेतको सुरुआत गरिएको थियो। 

कोभिड महामारीका कारण सेवा सञ्चालनका लागि खरिद गरिएको उपकरण आपूर्तिमा भएको ढिलाइ एवं सिस्टमको विकास र परिक्षणमा संलग्न जनशक्तिलाई पारेको अप्रत्याशित प्रतिकुल प्रभावका कारण सेवाको व्यावसायिक सञ्चालन सुरु गर्न केही ढिलाइ भएको भए पनि यस कम्पनीका सम्पूर्ण कर्मचारी एवं अन्य संलग्न सरोकारवालाको अथक मेहनतको फलस्वरुप प्रथम चरणको सेवा कम्पनी स्थापना भएको लगभग १३ महिनाको अवधिमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ। 

मोबाइल सेट बजारको ९५% भन्दा बढी हिस्सा ओगटने एन्ड्रोइड सिस्टमको मोबाइल एप यस चरणमा उपलब्ध हुनेछ । आईओएसको लागि केही औपचारिक तयारी बाँकी भएकोले सो सिस्टमका मोबाइलको लागि पनि सेवा यथाशीघ्र सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ । 

स्मार्ट फोनको अलाबा सामान्य फोनबाट पनि किबोर्ड प्रयोग गरी यूएसएसडी प्रविधिका माध्यमबाट इन्टरनेट नभएको स्थानमा समेत मोबाइल वित्तीय सेवाको शुभारम्भ गरिएको छ। हाल नेपाल टेलिकमको नेटवर्कमा उपलब्ध सो सेवा प्रयोगका लागि *500# डायल गरी सेवा प्रयोग गर्न सकिनेछ । यस सेवालाई पनि क्रमशः थप विविधिकरण गर्दै लगिने कम्पनीले जनाएको छ। 

प्रथम चरणको सेवामा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध हुनेछन् । 

यसैगरी मोबाइल वालेटमा पैसा लोड गर्नका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकसहित करिब ९ वटा बैंकहरूको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ । बाँकी बैंकबाट पैसा लोड गर्नका लागि क्रमशः व्यवस्था गर्दै लगिने कम्पनीको भनाइ छ। 

कम्पनीका अनुसार बैंकहरुको अलावा यस कम्पनीको देशव्यापी एजेन्ट नेटवर्कबाट पैसा लोड गर्ने सुविधा पनि यथाशीघ्र सुरु गरिनेछ । ‘यसका लागि एजेण्ट नेटवर्क तयार गर्ने कार्य भइरहेको छ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

नमस्ते पे वालेट छुट्टै मोबाइल वालेट सेवा हो । विभिन्न सञ्चार माध्यम र खासगरी अनलाइन मिडियामा पटक पटक प्रकाशित भएजस्तो नेपाल टेलिकमको मोबाइल ब्यालेन्सलाई नै पैसाको रूपमा उपयोग गर्न सकिने भने हुँदैन । नमस्ते पे वालेटमा बैंक वा एजेन्ट नेटवर्कमार्फत रकम लोड गरेरमात्र विद्युतीय भुक्तानिको लागि प्रयोग गर्न सकिन्छ । 

मोबाइल वित्तीय सेवाको लागि बैंक, मर्चेन्ट, युटिलिटी सेवा प्रदायक, अनलाइन व्यवसाय सञ्चालक लगायतका विविध साझेदार र सरोकारवालाहरुसँग व्यावसायिक, वित्तीय सहकार्य तथा प्राविधिक अन्तरआवद्धताको विकास एवम् परीक्षणसमेत गर्नुपर्ने भएकोले सम्भावित सबै किसिमका सेवा एकैपटक सञ्चालन गर्न चुनौतीपूर्ण हुने र बढी समय लाग्ने कम्पनीले जनाएको छ। ‘यसका साथै प्रारम्भिक चरणमा थोरै सेवासहित सञ्चालन गर्दा सुरुमा आउन सक्ने समस्याहरुको पहिचान र निराकरण गर्नसमेत थप सहज हुने हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ पनि कम्पनीले चरणबद्ध रूपमा सेवाहरु थप्दै र विविधिकरण गर्दै जाने रणनीति अंगीकार गरेको छ।’

सेवाको प्रारम्भिक सञ्चालनपश्चात् देखिने समस्याहरूको पहिचान र दिगो समाधान गर्न तथा क्रमिक रूपमा सेवाहरू थप गर्दै समग्र नमस्ते पे सेवालाई थप ग्राहकमुखी र उपयोगी बनाउँदै लैजान कम्पनी प्रतिबद्ध छ । 

‘विगत डेढ वर्षभन्दा बढी समयदेखि विश्वभर जनस्वास्थ्यको सर्वाधिक ठूलो चुनौतिको रूपमा रहेको कोभिड–१९ महामारी तथा सोको कारणले गर्दा जनजीवन प्रभावित भएको सन्दर्भमा डिजिटल वित्तीय सेवाको उपादेयता थप टडकारो रूपमा देखिएको छ’, कम्पनीले भनेको छ, ‘दैनिक उपयोगका सेवाहरूको महसुल, शिक्षा स्वास्थ्यसम्बन्धी खर्च, सरसामानको खरिदारी तथा सरकारी सेवाहरू र करसम्बन्धी दायित्वको भुक्तानी समेतका आर्थिक गतिविधिहरु विद्युतीय माध्यमबाट गर्न सकेमा उल्लेख्य सहजताका साथै कारोबारको हिसाबकिताबको अभिलेख राख्न, पारदर्शिता सुनिश्चित गर्न तथा चुहावट कम गर्न समेत सघाउ पुग्ने देखिन्छ।’

यही बृहत्तर उद्देश्यका साथ कम्पनीले सेवा शुभारम्भ गर्न लागेको छ र क्रमशः सेवासुविधाहरू थप गरी सो यथाशीघ्र उद्देश्य प्राप्तिका लागि कम्पनी लागिपरेको छ। 

यसरी बृहत वित्तीय समावेशिकरण र वित्तीय सेवामा देशभर पहुँच पुरुयाउने अभियानमा यस क्षेत्रमा वर्षौं अघिदेखि अगुवाका रूपमा लागिपरेर विविध सेवासुविधाको विकास गरी डिजिटल वित्तीय कारोबारको बजार तयार गर्न महत्वपूर्ण भूमिका खेलेका अन्य सेवा प्रदायक तथा सरोकारवालासँग आपसी हितमा सघन सहकार्य र साझेदारी गर्दै मुलुकभर अत्याधुनिक प्रविधिमा आधारि विद्युतीय भुक्तानी सेवाको सहज र सुरक्षित उपलब्धता सुनिश्चित गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ। 

सार्वजनिक क्षेत्रबाट पहिलोपटक सुरु हुन लागेको नमस्ते पे वालेट सेवाले देशमा प्रविधिको प्रयोगमार्फत वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको अपेक्षा छ । शुद्ध वित्तीय मुनाफा कमाउने भन्दा बढी सुरक्षित र भरपर्दो भुक्तानी सेवा प्रदान गर्ने ध्येयले निर्देशित यस कम्पनीले सेवाको भौगोलक विस्तारको साथसाथै विविधिकरण र प्राविदिक सुदृढीकरणमा विशेष प्रयासलाई निरन्तरता दिइनेछ। सोका लागि बढीभन्दा बढी सेवा प्रदायक, व्यवसाय तथा अन्य साझेदारसँग सहकार्य गरी सम्पूर्ण विद्युतीय भुक्तानी सेवा प्रदान गर्ने कम्पनीको प्रयासमा समस्त उपभोक्ता तथा शुभेक्षुक महानुभावहरुबाट रचनात्मक सुझाव सल्लाहको अपेक्षा कम्पनीले गरेको छ।