-निर्मल पौडेल

१.कुनै पनि कम्पनी खोल्नका लागि ठूलो परिणाममा पूँजी आवश्यक पर्ने हुँदा जनताबाट स्वेच्छा अलि अलि गरेर ठूलो रकम उठाइन्छ। यसरी कम्पनीले आवश्यकता अनुरूपको परिणाममा पुँजी संकलन गर्छ र नाफा गरेको खण्डमा राम्रो प्रतिफल तथा लाभांश दिने (तर ब्याज नदिने) शर्तमा उठाउने रकमलाई नै आइपीओ भनिन्छ र यसरी पैसा तिर्ने जनता त्यस कम्पनीको लगानीकर्ता र हिस्सेदार हुनेछन् । यस्तो सेयर नेप्सेमा लिस्टिङ भएपछि दोस्रो बजारमार्फत जोकोहीले कुनै पनि कम्पनीको स्वामित्व खरिद गरेर उक्त कम्पनीको हिस्सेदार बन्न सक्नेछन् । सर्वप्रथम तपाईं आफ्नो स्वविवेक प्रयोग गरेर कुनै पनि इच्छाएको कम्पनीको आइपीओ भर्नुहोस् र अलोटमेन्ट पश्चात धेरै र थोरै हिस्सेदार बन्न सक्नुहुनेछ । नेपाली बजारमा प्रायः प्राथमिक बजारमा सेयरको मूल्य रु.१०० हुने गर्छ र न्यूनतम १० कित्ता भर्नुपर्ने हुन्छ । तर कहिलेकाही केही कम्पनीले निश्चित प्रिमियम मूल्य जोडी मूल्य निर्धारण गर्न सक्छन् । त्यसैले नेपाली सेयर बजारमा प्रबेश गर्न इच्छा हुनेले न्यूनतम रु. १००० बाट पनि सुरु गर्न सक्नेछन् ।

२.कुनै पनि कम्पनीको बारेमा गहिरो अनुसन्धान र अध्ययन गर्नु नै आधारभूत बिश्लेषण(फण्डामेन्टल एनालिसिस) हो। प्राय लगानीकर्ताहरुले कम्पनी छनौट गर्न नसक्नु र घाटा ब्यहोर्नुको कारण पनि मुलतः आधारभूत विश्लेषण ज्ञानको अभावले नै हो। सेयर बजार घट्नु र बढ्नु निरन्तर प्रक्रिया नै हो। घटे जोखिम हुने नघटे जोखिममुक्त हुने भन्ने हुँदैन। सेयरमा लगानी गर्नेबित्तिकै प्रायः मान्छे रातारात धेरै कमाएर करोडपति बन्ने अपेक्षा राख्छन् । तर यतार्थमा सेयरबजार कुनै चिट्ठा वा जुवाघर हैन भनेर सम्झिनु पर्छ। यो त बिशुद्ध लगानी गरेर प्रतिफल प्राप्तिको अपेक्षा गर्ने ठाउँ र अवसर हो। तपाईंले आफू कस्तो लगानीकर्ता हो, कत्तिको जोखिम बहन गर्ने क्षमता छ त्यो बुझ्न जरुरी छ, ताकि तपाईंले सोहीअनुरूपको निर्णय लिन सक्नुहोस् ।

सेयर बजार घटे पनि आनन्दले बस्ने लगानीकर्ता पनि धेरै हुन्छन् । उनीहरु थोरैमात्र जोखिम लिने र औसतमा ठीक्क मात्रै प्रतिफल आशा गरेका हुन्छन् । तर यसरी प्रतिफल प्राप्तिका लागि कस्तो कम्पनी छान्नु भएको छ, त्यसमा भर पर्छ । नेप्से सूचक बढ्दा सबै कम्पनीको शेयरमूल्य बढ्दैन भने सूचक घट्दा सबै कम्पनीको शेयर मूल्य पनि घट्दैन् । त्यसैले लगानीकर्ताले हेर्नुपर्ने धेरै कुराहरु हुन्छन्, जस्तै कम्पनीको पूँजी, चार्ट विश्लेषण, बित्तीय अबस्था, संस्थागत सुशासन, खरिदबिक्री चाप, प्रतिसेयर आम्दानी, मूल्यआम्दामी अनुपात, जगेडा कोष, प्रतिस्पर्धीको रणनीति, अघिल्लो आर्थिक वर्षमा दिइएको लाभांश आदि हेरर लगानी गर्न सक्नुपर्छ ।

यद्यपि यति अध्ययन गर्दागर्दै पनि लगानीकर्ताले घाटा व्यहोर्नुपर्ने अवस्था आउनसक्छ । किनकि सेयर बजारको असर निश्चित कम्पनीको मात्र नभएर समग्र देश तथा विश्व अर्थतन्त्रले पनि प्रभावित पारेको हुन्छ । प्राय लगानीकर्ताले लगानी गरेपछि ढिलोचाँडो नाफा आइहाल्छ नि भन्ने गरिन्छ, तर बुद्धिमान लगानीकर्ताले जहिले अधिकत्तम नाफा कामाउने हैसियत राख्नुपर्छ।

यसैगरी आधारभूत विश्लेषणअन्तर्गत निश्चित कम्पनी बिश्लेषणबाहेक धेरै कुरा बिश्लेषण गर्नुपर्ने हुन्छ। जस्तै अर्थतन्त्र(देश तथा बिश्वको), लगानी गर्न लागेको उद्योगको अबस्था (बैंकिङ क्षेत्र, बिमा क्षेत्र, हाइड्रोपावर क्षेत्र, लघुवित्त क्षेत्र वा होटेल व्यवसाय क्षेत्र आदि), सरकारले हालै अपनाएको नीति ,आर्थिक नीति, मौद्रिक नीति, पछिल्लो राजनीतिक अवस्था, प्रत्येक कम्पनीको नियामक निकायले अपनाएको नीति आदि हेर्नुपर्छ । हालसालै सुरुका दिनमा कोरोनाको कारण विश्व सेयर बजार सिथिल हुने प्रवृत्ति देखिएको थियो, तर पछिल्लो केही दिनमा कोरोनाको औषधि बनेको, माहामारी घट्दै गएको, निको हुनेको संख्या बढेकोले फेरि विश्व सेयर बजारले राम्रो गति लिएको र त्यसको असर नेपालमा पनि देखिएको छ। 

यसैगरी, अहिले नेपाली सेयर बजारमा हाइड्रोपावर क्षेत्रमा लगानीका लागि आकर्षण देखिन्छ, यसको कारण हो हाइड्रोपावरको उत्पादन बढ्दै जानू, बैंकको ब्याजदर घटनु, प्रायः हाइड्रोपावरको मूल्य पहिलादेखि नै अण्डर भ्यालूड हुनु, त्यति नै लगानीमा अरु क्षेत्रमा प्रतिफल निश्चित नहुनु, हाइड्रोपावर क्षेत्रमा कोरोनाको प्रभाव कम देखिनु, जसले गर्दा हाइड्रोपावर क्षेत्रमा नाफा वृद्धि हुनु आदि कारण हुन् ।

यसरी नेपाली सेयर बजार पनि बिश्व बजारसँगै जोडिएको हुँदा यी कुरामा ध्यान दिनसके बजार बढ्दा अधिकतम नाफा तथा बजार घट्दा न्यूनतम घाटा व्यहोरेर कुशल र बुद्धिमान लगानीकर्ताको पहिचान बनाउन सक्नुहुनेछ ।

३.लगानीकर्ताले आधारभूत बिश्लेषण गरिसकेपछि प्राबिधिक विश्लेषण(टेक्निकल एनालिसिस) गर्न आवश्यक पर्दछ, तर प्राबिधिक विश्लेषण गर्न आधारभूत विश्लेषणभन्दा जस्तो कठिनाई हुँदैन र एकदमै सजिलोसँग गर्न सकिन्छ । यसका लागि यी कुरामा ध्यान दिए हुन्छ ।

जस्तैः कुनै पनि निश्चित कम्पनीको बजार मूल्य कति छ र त्यस कम्पनीको बजार मूल्यको ट्रेण्ड कता गइरहेको छ भनेर विश्लेषण गर्नु भनेकै प्राबिधिक विश्लेषण हो। त्यसका लागि लगानीकर्ताले बजार ट्रेण्ड कता गइराखेको छ(बुलिस वा बियरिस), त्यो पनि विश्लेषण गर्न आवश्यक हुन्छ, जसले गर्दा अपरच्यूनिटी गेन(प्रफिट टार्गेट) गर्ने कि स्टप लस रणनीति अपनाउने भन्नेतिर लाग्नु पर्छ। बुद्धिमान लगानीकर्ताले प्रफिट गेन र स्टप लस नीति अपनाउनु भनेको पनि नाफा बढाउनु सरह हो भनेर सम्झनु पर्छ।

सेयरबजार सम्बन्धी जानकारीका लागी पूँजीबजार सम्बन्धित बिजशालाजस्ता विभिन्न अनलाइन समाचार, आर्थिक समाचार वा सम्बन्धित कम्पनीको वेबसाइटमा गएर आफूलाई चाहिएको सूचना तथा जानकारी लिन सकिन्छ ।

४.यी माथिका कुरा बुझिसकेपछि तपाईं प्राथमिक बजारबाट दोस्रो बजारमा प्रवेश गर्न सक्नु हुनेछ। दोस्रो बजारमा अब तपाइ माथिका कुराहरु विश्लेषण गरेर नेप्सेमा लिस्टिङ भएको कुनै पनि कम्पनीको सेयर खरिदबिक्री गर्न सक्नुहुनेछ । झट्ट हेर्दा कम्पनीको आधारभूत विश्लेषण गर्न निकै कठिनाई देखिन्छ, तर हजुरसँग दोस्रो बजारमा प्रबेश गर्न दृढ़ इच्छाशक्ति र संकल्प भएमा दिनको केही समय छुट्टयाएर हजुरको मेहनतले कमाएको पैसा खेर जान नदिन यो बुझ्न अपरिहार्य नै हुन्छ । कहिलेकाही केही नबुझी लगानी गर्दा विण्डफल गेन हुनु छुट्टै कुरा हो, तर बजारमा कोही न कोही यी सबै कुरा विश्लेषण गरेर दीर्घकालीन नाफा कामाउने उद्देश्यले बजारमा प्रवेश गरेर बसेका हुन्छन् र ज्ञान नभएको मान्छे फस्न पुग्छन् । 

तसर्थ, अन्त्यमा यी कुराहरुलाई मध्यनजर गर्दै आफूलाई दीर्घकालीन रुपमा नाफा कामाउने उद्देश्य राखेर मात्रै दोस्रो बजारमा प्रवेश गर्न सके सफल लगानीकर्ता बन्न सक्नुहुनेछ ।

(लेखक बैंकर तथा साना लगानीकर्ता हुन्।)