– अनन्त्य सुन्दर

काठमाण्डौ । मन्त्रिपरिषद्को बैठकले धितोपत्र बजार सञ्चालन नियमावली २०७९ दोस्रो संशोधन स्वीकृत गरेसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ४५ दिनको सूचना जारी गर्दै नयाँ स्टक एक्सचेन्जका लागि आवेदन दिन आह्वान गरेको छ। मन्त्रिपरिषद्बाट पारित उक्त नियमावलीअनुसार ब्रोकरहरुले नयाँ स्टक एक्सचेन्जमा लगानी गर्न पाउने छैनन्।

स्वीकृत नियमावलीको मूल नियमावलीको नियम १३ मा संशोधन उल्लेख गर्दै धितोपत्र व्यवसायीले स्वामित्व ग्रहण गर्न नसक्ने लेखिएको छ। त्यसका साथै नियमावलीको संशोधित नियम १९ मा कुनै धितोपत्र व्यवसायी संस्थाको लाभको पदमा रहेको व्यक्ति सञ्चालक तथा कार्यकारी प्रमुखको अयोग्य हुने उल्लेख छ।

धितोपत्र ऐनअनुसार धितोपत्र व्यवसायीलाई धितोपत्र दलाल, धितोपत्र व्यापारी, बिक्री प्रबन्धक, बजार निर्मातालगायतमा विभाजन गरिएको छ। अर्थात् उक्त नियमावलीअनुसार नयाँ स्टक एक्सचेन्जमा ब्रोकरमात्र नभएर स्टक डिलर, मर्चेन्ट बैंकरलगायतलाई पनि सेयर स्वामित्व ग्रहण गर्ने बन्देज गरिएको छ।

‘बम्बई स्टक एक्सचेन्ज (बीएसई) मा जेरोधा ब्रोकरले लगानी गर्न मिल्छ भने नेपालमा चाहिँ एक्सचेन्जमा ब्रोकरहरुले लगानी गर्न किन मिल्दैन ?’, प्रश्न गर्दै एक ब्रोकर सञ्चालकले ‘सेबोन अध्यक्ष अहिले सञ्चालनमा रहेका ब्रोकरहरुलाई सिध्याउने खेलमा लागेका छन्। त्यसैले उनले व्यक्तिगत इगोका कारण नियमावलीमा ब्रोकरहरुले एक्सचेन्जमा लगानी गर्न नमिल्ने व्यवस्था राखेको देखिन्छ।’

‘सेबोन अध्यक्षको नजरमा हामी ब्रोकरहरु केही पनि होइन। त्यसैले ब्रोकर थप्दा होस् वा कमिसन घटाउन अध्ययन गर्दा हामीलाई  समावेश नै गरिँदैन’, अर्का ब्रोकर सञ्चालकले भने, ‘कुनै पनि निर्णय गर्नुअघि सम्बन्धित सरोकारवालाहरुसँग छलफल गर्नु पर्दैन ?’

व्यक्तिगत स्वार्थका कारण नियमावली नै संशोधन गरेर प्राइभेट कम्पनीलाई पनि स्टक एक्सचेन्जमा लगानी गर्ने बाटो खुलाइएको ती सञ्चालकको आरोपमा छ। ‘तर, दशकौँदेखि बजारमा रहेका हामी ब्रोकरलाई भने नियमावलीमा हुँदै नभएको नियम थपी लगानी गर्न बन्देज गराइन्छ’, ती सञ्चालकले भने।