– अनन्त्य सुन्दर

काठमाण्डौ । एउटा टेलिभिजन मिडियाले बिहीबार बिचौलिया दीपक भट्टले प्रहरीको हतियार खरिद गर्न डिल गरेको भिडियो सार्वजनिक गरेसँगै अहिले उक्त विषयको सामाजिक सञ्जालदेखि संघीय संसदसम्म चर्चा परिचर्चा छ। 

लगानी बोर्डका सीईओ सुशील भट्टका भाइ दीपक भट्ट राजनीतिक दलका प्रमुख नेता शेरबहादुर देउवा, केपी शर्मा ओलीदेखि प्रचण्डसम्म निकट मानिन्छ। दीपक भट्टलाई अहिले देशको नै सबैभन्दा शक्तिशाली ‘लबिस्ट’का रुपमा चिनिन्छ।

चुनाव नजिकिँदै गर्दा अहिले चुनावी खर्च जोहो गर्नका लागि राजनीतिक दलका प्रमुख नेताहरु बिचौलियाहरुको सहयोगमा हतियार खरिददेखि नयाँ स्टक एक्सचेन्ज सञ्चालन र कर्मचारीहरुको सरुवा बढुवासम्मको काम गर्न लागिपरेका छन्।

बिजशाला संवाददातालाई प्राप्त जानकारीअनुसार हतियार खरिदमा डिल गरेका भट्टले नयाँ स्टक एक्सचेन्जको डिलमा पनि सक्रिय भएर लागिपरेका छन्। स्रोतका अनुसार नीतिगतस्तरमा नै पहुँच भएका भट्टले नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा ल्याउनका लागि राजनीतिक दलहरुका प्रमुख नेताहरुदेखि व्यावसायिक घराना, नियामक निकायका उच्चस्तरीय अधिकारी सबैलाई रिझाइसकेका छन्।

नेपाल धितोपत्र बोर्ड (सेबोन)निकट एक कर्मचारीले बिचौलिया भट्टको एपीआई पोलिसी, ब्रोकर लाइसेन्सदेखि नयाँ स्टक एक्सचेन्ज सञ्चालनसम्मको सेटिङ गरेको बताए। ‘उनकै अग्रसरतामा नै बोर्डबाट ब्रोकरको टीएमएस ल्याउन पनि डिजीहबलाई नीतिगत रुपमा अनुकूल वातावरण सिर्जना गरिएको थियो’, ती कर्मचारी भन्छन्, ‘भट्टको ईशारामा नै नयाँ ब्रोकर लाइसेन्सको मस्यौदा पारित गरेको बोर्डले अहिले ५ अर्ब रुपैयाँ पुँजी भएको नयाँ स्टक एक्सचेन्ज ल्याउने तयारी अघि बढाएको छ। हामीलाई प्राप्त जानकारीअनुसार भट्टको उक्त सेयर ३३० रुपैयाँ प्रतिकित्तामा बेच्ने प्लान रहेको छ। अर्थात् नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्दा २३० रुपैयाँ प्रिमियमले ११ अर्ब ५० करोड रुपैयाँ कमिसन लिने सम्झौता भएको देखिन्छ।’

‘बोर्डको सञ्चालक समितिले असार २१ मा ब्रोकर लाइसेन्सको मस्यौदा पारित गरेको थियो। उक्त मस्यौदा मन्त्रालयबाट पारित भएको १५ दिनमा नयाँ स्टक एक्सचेन्ज ल्याउने तयारी थियो’, ती कर्मचारी भन्छन्, ‘तर, मस्यौदा मन्त्रालय पठाएको भोलिपल्ट नै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिए। जसका कारण उक्त मस्यौदा साथै नयाँ स्टक एक्सचेन्जको विषय पनि अहिले रोकिएको छ।’

बोर्डका केही कर्मचारीसहित बोर्ड अध्यक्ष रमेशकुमार हमाल गत सोमबार भारत गएका छन्। उनी भारतको पुँजीबजारको नियामक निकाय सेबीबारे बुझ्न गएको भनिए पनि स्रोतहरु उनी भारत तिनै दीपक भट्टलाई भेट्न गएको दाबी गर्छन्।  

बिजशालालाई प्राप्त जानकारीअनुसार बिचौलिया भट्ट पनि अहिले भारतमै छन्। बोर्डको नीति तथा कार्यक्रमको मुखमा नै अध्यक्ष हमालको भारत भ्रमण महत्वपूर्ण साथ हेरिएको छ। 

बोर्डनिकट स्रोतहरुका अनुसार बोर्ड अध्यक्ष हमाल भारतमा बिचौलिया भट्टलाई भेटी नयाँ स्टक एक्सचेन्ज विषयमा छलफलका लागि भनेर नै भारत प्रस्थान गरेको बताए।