काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दक्षिणकाली सेक्युरिटिज (स्टक ब्रोकर नं. ३३)लाई नयाँ कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) का लागि आवश्यक पूर्वाधारलगायत अन्य आवश्यक व्यवस्था गर्नका लागि पत्राचार गरेको छ।

गत आइतबार नै नेप्सेले दक्षिणकाली सेक्युरिटिजलाई काटेको पत्रमा धितोपत्र कारोबार सञ्चालन (तेस्रो संशोधन) विनियामवाली, २०७९ बमोजिम कारोबार व्यवस्थापन प्रणाली स्थापनाका लागि पूर्वाधारलगायत अन्य आवश्यक व्यवस्था गरी ३० दिनभित्र नेप्सेमा जानकारी गराउन हुन भनिएको छ।

नेप्सेको सञ्चालक समितिले सेयर कारोबार विनियमावली, २०७५ स्वीकृत गरी २०७९ असार ५ गतेबाट कार्यविधि बनाएर लागू गरेको थियो। सोही कार्यविधिअनुरूप नै अहिले सञ्चालनमा रहेका ब्रोकरहरुले आफ्नै टीएमएस सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाएका थिए।

विनियमावलीमा भएको व्यवस्थाअनुरुप नै ब्रोकरहरुले स्थानीय प्रतिनिधि छनौट गरी नेप्सेमा आफ्नै टीएमएस सञ्चालनका लागि गत साउनमा नै आवेदन दिएका थिए। 

दक्षिणकाली सेक्युरिटिजका साथै अहिले सञ्चालनमा भएका ५० ब्रोकरमध्ये ३२ वटा ब्रोकरले स्थानीय प्रतिनिधि ‘डिजीहब’मार्फत टीएमएस ल्याउने प्रक्रिया अघि बढाएका छन्। डिजीहबमार्फत ३२ वटा ब्रोकरहरुको श्रीलंकाको कम्पनी आइरनवान टेक्नोलोजी प्रालिले विकास गरेको टीएमएस ल्याउन तयारी रहेको छ। 

ब्रोकरहरुले हाल कोलम्बो स्टक एक्सचेन्जका ब्रोकरहरुले चलाएको आइरनवान टेक्नोलोजी प्रालिले बनाएको ‘एट्राड’ नामक टीएमएस ल्याउन खोजेका छन्।