काठमाण्डौ । नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते शनिबार काठमाण्डौको दरबारमार्गमा आयोजित एनसेल प्रिजेन्टस् १६ औँ दरबारमार्ग सडक महोत्सव पर्पल स्याटर्डेसम्पन्न भएको छ। 

‘नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम’ भन्ने नाराका साथ यो महोत्सव आयोजना गरिएको थियो। नेपाल उद्योग वाणिज्य महासंघ, दरबारमार्ग विकास बोर्ड र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना गरेको हो। 

संस्कृति, पर्यटन तथा नागरीक उड्यनमन्त्री सुदन किराती, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ, दरवारमार्ग विकास बोर्ड र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) का पदाधिकारीहरुले संयुक्त रुपमा महोत्सवको उद्घाटन गरेका थिए। 

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने, नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने, काठमाण्डौ महानगरपालिकाभित्रको सांस्कृति प्रवर्द्धन एवं संरक्षणमा सहयोग गर्ने यस महोत्सवको मूल उद्देश्य रहेको थियो। 

काठमाण्डौ उपत्यकाभित्रका संस्कृति झल्कने प्रस्तुतिका साथ महोत्सवको औपचारिक शुभारम्भ बिहान ११ बजेदेखि गरिएको थियो। गीत–संगीतका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुति र महोत्सव आयोजना गरिएको क्षेत्रमा विविध रमाइला गतिविधिसहित यो महोत्सव उत्साहका साथ बेलुका ९ बजेसम्म आयोजना गरिएको थियो। 

कार्यक्रम सुरु भएदेखि बेलुकासम्म १ लाख ५० हजारभन्दा बढी मानिसले महोत्सवमा भाग लिएका थिए। 

यस महोत्सवमा चर्चित गायक–गायिका, कलाकार तथा सांगीतिक समूहहरुको आ–आफ्ना प्रस्तुति रहेका थिए। कुटुम्ब, दीपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, पहेँलो बत्ती मुनी, त्रिशाला गुरुङ, आविष्कार केसी, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टसले उपस्थित दर्शक तथा आगन्तुकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए। 

यसका साथै महोत्सवमा शारीरिक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु र महिला उद्यमीसहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका पनि प्रर्दशनीमा राखिएका थिए। 

बालबालिकाका लागि विभिन्न आकर्षक गेमसहित छुट्टै किड्स जोनको विषेश व्यवस्था गरिएको थियो भने विभिन्न नेपाली खानाका परिकार र स्वदेशी उत्पादनको विषेश प्रदर्शन तथा प्रस्तुतिका स्टलहरु महोत्सवको आकर्षणमा रहेको थियो। 

यसैगरी महोत्सवमा भिडिओ गेमका पारखीहरुका लागि अनलाइन गेमिङ प्रतियोगिता पनि सञ्चालन गरिएको थियो। महोत्सवमा आउने सबैका लागि फोटो तथा भिडियो बनाउन टिकटक बुथ र डिजे बुथ पनि राखिएका थिए। 

महोत्सव काठमाण्डौ महानगरपालिका र नेपाल पर्यटन बोर्डको विषेश सहयोगमा आयोजना भएको हो। सहप्रायोजकमा कार्ल्सबर्ग र अन्य सहयोगी संस्थामा कुनु नेपाल र एनडिज आइसक्रिम रहेका थिए। 

पछिल्लो पटक देखिएको तरलता संकटलगायत विविध कारणले थलिएको अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरुत्थान, नवउत्थानमा लैजान सकिन्छ भनी निरन्तर काम भइरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरुको रहेको छ।