काठमाण्डौ। कोरोना दोस्रो लहर बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको नयाँ स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन निर्देशन दिएका छन्। 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) अधिकारीसँग छलफलका क्रममा प्रधानमन्त्री ओलीले केही दिनअघि जारी भएको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्। ओलीले कोरोनाको संक्रमण रोक्न स्थानीय तहले नै कडाइका साथ स्वास्थ्य मापदण्ड लागू गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट आगामी दिनमा चाल्नुपर्ने कदमलगायत विषयमा आवश्यक छलफल गरी खाका तयारी गरी पेस गर्न सीसीएमसीलाई निर्देशन दिएका छन्। सीसीएमसीले सरकारले हालै जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना, संक्रमणको अवस्था तथा सरकारको तयारीबारे जानकारी गराएको थियो।