काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलमा नवनिर्मित अत्याधुनिक प्रविधिले सुसज्जित एवम् जे. सी. आई. (Joint Commission International) मापदण्ड बमोजिम निर्माण गरिएको विश्वस्तरीय शल्यक्रिया कक्षको मंगलबार एक समारोहका बीच उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरेका छन् । 

अत्याधुनिक शल्यक्रिया सुइट्स्मा युरोपेली स्तरका ३ वटा शल्यक्रिया कक्षहरू, प्रि एण्ड पोष्ट अपरेटिभ वार्ड, सर्जिकल इन्टेन्सिभ केयर युनिट, बिरामी परामर्श लाउञ्ज, केन्द्रिय निर्मलीकरण विभाग, फार्मेसी, चिकित्सक लाउञ्ज नर्स स्टेशन लगायतका सम्पूर्ण सेवा एकै तलामा रहेका छन् । 

नर्भिकको यो शल्यक्रिया कक्ष पूर्ण रुपमा संक्रमण रहित रहेको र यसको निर्माणमा प्रयोग भएका प्यानेलहरू अग्नी निवारक, भारबहन गर्ने क्षमता अत्यधिक भएका, टुटफुट नहुने र धातुरहित भएकाले खिया लाग्ने, खिइने, बाङ्गिने आदि नभई विशुद्ध युरोपेली मापदण्ड बमोजिमका हुनुका साथै कुनै रसायनले नपग्लिने, नघोलिने प्रकृतिका रहेका अस्पतालले जनाएको छ । 

निर्माणमा प्रयोग भएका सामग्री तथा उपकरणहरू अमेरिकी खाद्य तथा औषधि नियोग (USFDA)बाट प्रमाणित भएका रहेका छन् । 

शल्यक्रिया कक्षलाई उद्घाटनपछि उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले नर्भिकको स्तरीय स्वास्थ्य सेवाका कारण लोकप्रिय र थप विश्वसनीय बन्दै गएको बताए । स्वास्थ्य क्षेत्रमा भएका तमाम कमी कमजोरी सच्याएर अघि बढ्न नयाँ सरकार तयार रहेको समेत बताए । 

महराले  अत्याधुनिक सुइट्स्का सबै कक्षहरूको अवलोकन गरेका थिए । मन्त्री महराले हस्पिटलका अन्य कक्षहरूको पनि अवलोकन भ्रमण गरे । 

आधुनिक शल्यक्रिया कक्ष उद्घाटन समारोहलाई सम्बोधन गर्दै नर्भिकका अध्यक्ष बसन्त चौधरीले आम नेपालीले स्तरीय स्वास्थ्य सेवा आफ्नै घरदैलोमा पाउनुपर्ने, विश्वकै उत्कृष्ट प्रविधि देशमै भित्र्याउनुपर्ने आफ्ना दिवंगत पिताको सपना पूरा गर्न विगत २५ वर्षदेखि आफू लागिपरेको बताए । यसै वर्ष २०० शैयायुक्त अत्याधुनिक प्रविधिसहितको नयाँ भवन, आवाजविहीन अति विशिष्ट एम.आर.आई., २५६ स्लाइसको सी.टी. स्क्यान आदि थपिने, २ महिनाभित्रै अत्याधुनिक प्रविधिसम्पन्न निःसन्तान केन्द्र र हेमो डायलाइसिस सेन्टर थप्ने, नर्भिकको स्याटलाइट सेन्टरका रुपमा पोखरा र विराटनगरमा बहुआयामिक र विशिष्टस्तरका स्वास्थ्य संस्थाहरूको सुरुवात गरिने, दक्षिण भारतको प्रसिद्ध क्यान्सर हस्पिटलसँगको सहकार्यमा १०० शैयायुक्त छुट्टै अत्याधुनिक क्यान्सर हस्पिटल सञ्चालनार्थ काम सुरु गर्ने जस्ता महत्वाकांक्षी योजनाहरू पनि उनले उक्त समारोहमा उजागर गरे । 

'उत्कृष्ट प्रविधि सदैव महङ्गो हुन्छ, त्यसलाई अझै महङ्गो पार्ने' कार्य सरकारले गरेको गुनासो पनि अर्थमन्त्रीसँग चौधरीले गरेका थिए । 

उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले नर्भिकको सेवास्तर विश्वस्तरीय पार्न हर सम्भव प्रयास गरिने बताइन । 

यसैबीच नर्भिक इन्टरनेशनल हस्पिटलले सञ्चारकर्मी तथा उनीहरूका परिवार सदस्य (माता,पिता, श्रीमान्,श्रीमती तथा छोराछोरी)हरूलाई स्वास्थ्य परीक्षण प्याकेज एवम् जाँच सेवाहरूमा १०% छुट दिने निर्णय गरेको छ । उक्त छुटका लागि कुपनको व्यवस्था गरिएको छ । कुपन ३० दिनसम्मका लागि मान्य हुनेछ । यसैगरी नवउद्घाटित अपरेशन 

थिएटर (ओटी)बाट सेवा सुरु भएको १ हप्तासम्म सबैखाले शल्यक्रियामा १० देखि १५ प्रतिशत छुट दिने पनि घोषणा पनि गरिएको छ ।