काठमाण्डौ । स्तरीय उपचार सेवाका कारण देश–विदेशमा चर्चित अन्तर्राष्ट्रिय स्तरको नर्भिक हस्पिटलले अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष र अत्याधुनिक टेस्ट ट्यूब बेबी सेन्टर संचालनमा ल्याउने भएको छ । 

अस्पतालले आधुनिक प्रविधिको सीटी स्क्यान मेसिन समेत जडान गर्ने र निकट भविष्यमै सरकारी मापदण्ड अनुसारको अत्याधुनिक नयाँ भवन निर्माण गरी अझ स्तरीय सेवा दिने समेत घोषणा गरेको छ । 

नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो २३ औं बार्षिकोत्सवको अवसर पारेर राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नर्भिकका अध्यक्ष बसन्तकुमार चौधरीले बिस्तार हुन लागेका र भित्र्याउन लागिएको नयाँ र आधुनिक सेवाहरुको बिषयमा जानकारी दिएका हुन् । उनले निकट भविष्यमा दक्षिण एशियाली क्षेत्रमै अति स्तरीय मानिएको 3 Tesla (Silent) MRI / 128 Slice क्षमताको CT Scan जडान गरी केही महिनामा सेवामा थप गुणस्तरीयता थपिने जानकारी दिए । यसैगरी, नेपाल सरकारको नयाँ मापदण्ड बमोजिम अत्याधुनिक छुट्टै भवन यथाशीघ्र निर्माण गरी शैया संख्या थपिने, अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष र अत्याधुनिक “टेष्ट ट्युब बेवी सेन्टर”को सेवा थप गरिने समेत बताए । 

सो अवसरमा निजी क्षेत्रका हस्पिटलहरूमध्येबाटै पहिलोपटक नर्भिकले प्रकाशन गरेको Drug Formulary Book समेत लोकार्पण गरिएको थियो । पुस्तकको लोकार्पण नेपालका अग्रणी फर्माकोलोजिष्ट तथा नेपाली सेना हस्पिटल तथा मेडिकल कलेजका फर्माकोलोजी विभागका विभागीय प्रमुख प्रा. डा. कुमुद काफ्ले, स्वास्थ्य मन्त्री चौधरी र नर्भिकका अध्यक्ष बसन्त कुमार चौधरीले संयुक्त रुपमा गरेका थिए । 

वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई उद्घाटन गर्न पुगेका स्वास्थ्यमन्त्री रामजनम चौधरीले नर्भिकलाई हरतरहले सहयोग पु¥याउन नेपाल सरकार तयार रहेको बताए । ‘केबल हस्पिटल खोलेर मात्रै पुग्दैन, त्यसले अपेक्षित सेवा दिन सक्नुपर्छ, नर्भिकले नेपाली जनतालाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा पु¥याउन सकेको छ’ भन्दै उनले त्यसको प्रशंसा गरे । ‘सानै आकारको भएता पनि यहाँ भर्ना भइसकेपछि “अब म बाच्छु” भन्ने आत्म विश्वास बिरामीमा पर्ने र यसको गुणस्तरलाई भारतको मेदान्ता दि मेडिसिटीको गुणस्तरसँग दाँजिने गरेको मैले पाएको छु ।”–चौधरीले थपे । 

कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नर्भिकका पूर्व मुटुरोग विभागीय प्रमुख डा. भारत रावतले नर्भिक आजको बद्लिँदो नेपालका लागि अपरिहार्य संस्था भएको, त्यस्तो आवश्यकता, जसलाई देशको चिकित्सा फाँटले नै अपरिहार्य महसुस गरेको स्पष्ट पारे । 

नर्भिकका चिकित्सा निर्देशक डा. पंकज जालानले नर्भिकमा सदैव उत्कृष्ट प्रविधि र बिरामीलाई नै प्रथम प्राथमिकतामा राखिने परिपाटी भएको बताए । 

स्वास्थ्यमन्त्रीले पानसमा दीप जलाई उद्घाटन गरेको कार्यक्रममा स्वागत मन्तव्य राख्दै नर्भिकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहले उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत गरिनुका साथै तिनको ग्रेड थपिने, पदोन्नति गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । सो अवसरमा नर्भिकमा निरन्तर १० वर्ष भन्दा बढी अवधिसम्म सेवा पु¥याउने दीर्घसेवी कर्मचारीहरू र उत्कृष्ट विभागीय प्रमुखलाई प्रशंसापत्र र पुरस्कार प्रदान गरिएको थियो । 

गत वर्षको विनाशकारी महाभूकम्पपश्चात् राष्ट्रमा निम्तिएको विषम परिस्थितिमा घाइते र बिरामीहरूप्रति नर्भिकले पु¥याएको निःशुल्क स्वास्थ्य सेवा, देशका विभिन्न २० भन्दा बढी स्थानहरूमा सञ्चालित वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा राहत वितरण कार्यको वक्ताहरुले प्रंशसा समेत गरेका थिए ।