काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो पाचन प्रणाली उपचार केन्द्रमा इण्डोस्कोपिक अल्ट्रासाउण्ड विधिको प्रत्यक्ष प्रदर्शन सहित नेपालकै पहिलो कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

इण्डोस्कोपिक अल्ट्रासाउण्ड इमेजिङ्गबाट उत्कृष्ट नतिजा, पेटको इण्डोस्कोपी विधि भन्दा एक चरण अघि भन्ने सो कार्यशालामा काठमाण्डौ उपत्यकाका विभिन्न हस्पिटलहरूमा कार्यरत २० पेटरोग विशेषज्ञहरू सहभागी थिए । त्रि.वि. शिक्षण अस्पताल, वीर अस्पताल, नेपाल क्यान्सर अस्पताल, केही निजी अस्पताल र नर्भिकका सम्पूर्ण पेटरोग विशेषज्ञहरू(ग्यास्ट्रोइन्टेरोलोजिष्ट) कार्यशालामा सहभागी थिए । 

पेटरोग सम्बन्धी तमाम समस्याहरू सजिलै र समयमै निदान नहुँदा वा पत्ता नलाग्दा सम्बन्धित बिरामीहरू मात्रै नभएर चिकित्सकहरू समेत हैरान हुनुपर्ने बाध्यता विद्यमान छ । यस अवस्थामा इण्डोस्कोपिक अल्ट्रासाउण्ड प्रविधिका कारण पाचन प्रणालीभित्र र बाहिरका अंगहरूमा हुने असामान्य घाउ, खटिरा(रोग)हरू पत्ता लगाउने चमत्कारिक तरिका चिकित्सकहरूले प्राप्त गरेका छन् । 

यसले पेटरोग विशेषज्ञहरू (ग्यास्ट्रोइन्टेरोलोजिष्ट)लाई बिरामीको पाचन संयन्त्र भित्रका गाँठागुठी(लिम्फ नोड्स), फोक्सो, अग्नाशय(प्यान्क्रियाज) र कलेजो जस्ता अंग–प्रत्यंगहरूको अवस्था, तिनमा भएका असामान्य गडबडी आदि पत्ता लगाउने एउटा नयाँ सम्भाव्यताको उजागर भएको चिकित्सकहरुले बताएका छन् । 

नेपाली चिकित्सा इतिहासमै सर्वप्रथम करीब अठार महिनापूर्व नर्भिक इन्टरनेशनल हस्पिटलमा सुरु गरिएको यो प्रविधिको सफलतम् प्रयोगबाट पेटसम्बन्धी जटिल निदानात्मक र Interventional गरी १०० भन्दाबढी बिरामीहरू लाभान्वित भइसकेका अस्पतालले जनाएको छ । 

छिमेकी राष्ट्र भारतका धेरैजसो प्रमुख हस्पिटलहरूमा इण्डोस्कोपिक अल्ट्रासाउण्ड प्रविधिको व्यापक प्रयोग भइरहेको भएता पनि नेपालमा भने हालसम्म पनि यो प्रविधि उपलब्ध थिएन । 

कार्यशाला नर्भिकका वरिष्ठ चिकित्सक एवम् पेटरोग विशेषज्ञ डा. मधु घिमिरेको निर्देशनमा आयोजित थियो भने कार्यशालामा दिल्लीस्थित वि.एल.के. सुपर स्पेशियालिटी हस्पिटलका पेट तथा कलेजो रोग विशेषज्ञ तथा निर्देशक डा. योगेश वात्रा आमन्त्रित अतिथिका रुपमा सहभागी थिए ।

प्रत्यक्ष प्रसारण सहितको उक्त कार्यशालामा इण्डोस्कोपिक अल्ट्रासाउण्ड विधिबाट उपचार प्राप्त गर्ने ७ जना जटिल बिरामीहरूको निदानात्मक एवम् उपचारात्मक इण्डोस्कोपिक अल्ट्रासाउण्ड गरिएको थियो । तीमध्ये अधिकांशको पेटको रोग निदान हुन नसकेको, प्यान्क्रियाटोविलियरी प्रणालीमा अर्बुद रोग भएको अनुमान गरिएका बिरामीहरू थिए । ७ मध्ये १ जनाको शल्यक्रियात्मक उपचार समेत सम्भव नहुने अवस्था, २ जनाको शल्यक्रियात्मक विधिबाट उपचार सम्भव हुने अवस्था पाइएको थियो भने बाँकी औषधोपचारबाटै ठीक पार्न सकिने अवस्थामा पाइएका थिए । ती सबै बिरामीहरू लामो समयसम्म रोग पत्ता लाग्न नसकी अन्यौलको अवस्थामा रोगबाट पीडित रहँदै आएका थिए । 

कार्यक्रम उपलब्धिमूलक र रोचक भएको नर्भिकका पेट तथा कलेजो रोग विशेषज्ञ डा. सन्दीपराज कुँवरले बताए । इण्डोस्कोपिक अल्ट्रासाउण्ड प्रविधिको सीप र ज्ञान नपाएका पेटरोग विशेषज्ञहरूलाई यो कार्यशालाले अत्यन्तै लाभ पु¥याएको ठहर डा. कुँवरको थियो । 

इण्डोस्कोपिक अल्ट्रासाउण्ड के हो ?
सर्वसाधारणको जानकारीका लागि सामान्य भाषामा भन्नुपर्दा इण्डोस्कोपिक अल्ट्रासाउण्ड भन्नाले एउटा पाइप (नली) आकारको इण्डोस्कोपसँग जोडिएर रहेको भिडियो एक्स–रेलाई बुझ्नु पर्दछ । भिडियो एक्स–रे भन्नाले उच्च आवृत्ति(हाई फ्रिक्वेन्सी) भएका ध्वनिका तरंगसहितको तस्विर (चित्र/फोटो खिच्ने) लिने प्रविधि हो, जसले पेटभित्रका विभिन्न अंग–प्रत्यंगहरुको बनावट र अवस्थाबारे स्पष्ट रुपमा हेर्न चिकित्सकलाई मद्दत गर्दछ । इण्डोस्कोपी भन्नाले चाहिँ एउटा त्यस्तो प्रविधि, जसमा पाइपको टुप्पोमा बत्ती जडान गरिएको अन्दाजी १ मिटर लामो नरम ट्युब (पाइप) बिरामीको मुखबाट भित्र पठाई खाद्यनली, आमाशय (पेट) र डयुडेनम (सानो आन्द्रा) सम्म पु¥याएर तत्सम्बन्धित आन्तरिक अंगहरूको घाउ÷रोग आदि हेर्ने काम गरिन्छ ।