काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत भोलि (शनिबार) पेट र पाचनप्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी अभियान सञ्चालन हुने भएको छ।

नर्भिक अस्पतालका सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिस्ट (surgical gastroenterologist) डा. मुकुन्दराज जोशीले फ्री ओपीडी सेवा दिने भएका हुन्। पेट तथा पाचन प्रणालीसँग सम्बन्धित समस्या भएका, पित्तथैलीको पत्थरी, पायल्सजस्ता समस्या भएकाहरुले समेत डा. जोशीको फ्री ओपीडीमा आएर स्वास्थ्य जाँच गराउनसक्ने अस्पतालले जनाएको छ। 

नर्भिकले केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलिटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ। यही क्रममा भोलि (शनिबार) डा. जोशी बिहान १० बजेदेखि १२ बजेसम्म ओपीडी सेवाका लागि अस्पतालमा उपलब्ध हुनेछन्। 

निःशुल्क ओपीडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्यान्डलाइन नम्बर ०१–५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ।