काठमाण्डौ । देशकै टप, नर्भिक इन्टरनेशनल अस्पतालले आफ्नो शल्यक्रिया कक्षलाई परिमार्जित गरी विशिष्ट स्तरको मोडुलर शल्यक्रिया सुइट्सको रुपमा रुपान्तरित गर्दै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाएको छ । 

साबिकको शल्यक्रिया कक्षलाई वृहत रुपमा परिस्कृत, परिमार्जित एवम् आधुनिक उपकरणहरु जडान गरी अत्याधुनिक बनाइएको मंगलबार अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी जनाएको हो । 

२०५० सालमा स्थापित नर्भिक  अस्पताल नेपालमा आधुनिक उपचार पद्धति भित्र्याउने अग्रणी संस्था हो । समयानुकुल यो अस्पतालले आफ्ना सेवाहरुको स्तरवृद्धिसँगै आधुनिक उपचार प्रणाली तथा उपकरण समेत भित्र्याएर उपचारका लागि विदेशिरहेकाहरुलाई धेरै हदसम्म नेपालमै रोक्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ । 
 
पत्रकारसम्मेलनमा ‘लून–गङ्गा अपरेटिङ्ग सुइट्स्’ नामक अत्याधुनिक उपकरणले सुसज्जित नवीनतम् कक्षको सेवा आगामी सातादेखि सुरु हुने र यसको औपचारिक उद्घाटन भने बुधबार बिहान उपप्रधानमन्त्री कृष्णबहादुर महराले गर्ने कार्यक्रम राखिएको जानकारी दिइयो । 

अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सुविधासम्पन्न, व्यवस्थित र जीवाणुरहित(Zero Bacteria) अपरेटिङ्ग सुइट्स्को सेवा सञ्चालनपछि शल्यक्रियालाई नयाँ मापदण्डअनुरुप अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सकिने अस्पतालले दाबी गरेको छ । 

अस्पताल व्यवस्थापनले साबिकको शल्यक्रिया कक्षलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्तरवृद्धि गरिएको बारे पत्रकार सम्मेलनपछि त्यहाँ उपस्थित संचारकर्मीलाई सो शल्यक्रिया कक्षाको अवलोकन भ्रमण समेत गराएको थियो । सो क्रममा अस्पतालका चिकित्सक तथा प्रशासनतर्फका अधिकारीहरुले शल्यक्रिया कक्षमा जडित उपकरण र त्यहाँका अत्याधुनिक सेवा तथा सुविधाको बिषयमा जानकारी गराएका थिए । 

मंगलबार नर्भिक इन्टरनेशनल अस्पतालमा आयोजित पत्रकार सम्मेलन र अत्याधुनिक शल्यक्रिया कक्षको संचारकर्मीलाई गराइएको अवलोकन भ्रमणसँग सम्बन्धित फोटोफिचरका लागि तल क्लिक गर्नुहोस् ।