काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवालाई विस्तार गर्ने गरी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ। 

पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएपछि बनेको नयाँ सञ्चालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाएकाहरुका लागि इन्डक्सन प्रोग्राम(परिचयात्मक कार्यक्रम) आयोजना गरी नर्भिकले आफ्नो पञ्चवर्षीय विस्तार रणनीति सार्वजनिक गरेको हो। 

ठमेलस्थित होटल अलफ्टमा आयोजित कार्यक्रमका बीच नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले ५ वर्षे रणनीति सार्वजनिक गरिन्। उनले अबको पाँच वर्षभित्र नर्भिक अस्पतालले आफ्नो सेवालाई व्यापक रुपमा विस्तार गर्ने योजनाको बिषयमा जानकारी दिइन्। 

सन् २०२२ देखि २०२६ भित्रमा थापाथलीमा रहेको नर्भिक अस्पतालको सेवा अझ विस्तार गरिनेछ। थापाथलीमा २ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अत्याधुनिक अर्को भवन बनाएर हालको सेवालाई विस्तार गरिनेछ। सेवा विस्तारसँगै नर्भिक अस्पताल ‘सुपर स्पेसियालिटी अस्पताल’का रुपमा रुपान्तरण हुनेछ। थापाथलीमा अर्को भवनसमेत बनेपछि नर्भिकले २ सय शैयाको भव्य अस्पतालबाट सेवा सञ्चालन गर्नेछ। 

यस्तै आगामी पाँच वर्षभित्र नर्भिकले भैरहवामा १०० शय्या तथा सुनसरीको दुहबीमा पनि १०० शय्याको दुईवटा स्याटेलाइट अस्पताल निर्माण गरी संचालनमा ल्याउनेछ। यी दुवै अस्पताल निर्माणमा ३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुनेछ। 

यो अवधिमा नर्भिकको अत्याधुनिक कर्पोरेट अफिससमेत बन्ने कार्ययोजनामा उल्लेख छ। 

पाँचवर्षे योजनामा नर्भिकले आफ्नो सेवा विस्तारका लागि ६ अर्ब बढी लगानी थप्ने र २ हजारभन्दा बढीका लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने योजना बनाएको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिइन्। 

नर्भिक अस्पतालका निवर्तमान चेयरम्यान तथा संरक्षक वसन्त चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरुले अस्पतालको स्तरीय सेवालाई व्यापक रुपमा विस्तार गर्ने योजना बनाएको उल्लेख गरे। उनले भने, ‘सम्भवत हामी देशका विभिन्न क्षेत्रमा स्याटेलाइट अस्पताल निर्माण गर्ने पहिलो कम्पनी बन्नेछौँ।’ 

उनले अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउन, पारदर्शी सोँच र कार्यशैलीका साथ अगाडि बढ्न, अहिलेभन्दा धेरै काम गर्ने उद्देश्यले हालै नर्भिकलाई प्राइभेट लिमीटेड कम्पनीबाट पब्लिकमा रुपान्तरण गरिएको प्रस्ट पारे। ‘मेरो सपना अझ ठूलो हुँदैछ’, उनले थपे, ‘अब हामीसँग पब्लिक डाइरेक्टर हुनेछन्। हामीसँग विभिन्न क्षेत्रका विज्ञ हुनेछन्। हिजोको दिनमा एकजनाको भिजनमात्र हुन्थ्यो भने अब हामीसँग एउटा टिमको भिजन हुनेछ।’ 

सो अवसरमा नर्भिक अस्पतालका नवनियुक्त अध्यक्ष राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले समेत बोलेका थिए। 

सो अवसरमा नर्भिकको नयाँ सञ्चालक समितिको परिचय निवर्तमान अध्यक्ष वसन्त चौधरीले गराएका थिए भने व्यवस्थापनको उच्च तहको विभिन्न जिम्मेवारीमा आएकाहरुको परिचय प्रबन्ध निर्देशक मेघा चौधरीले गराएकी थिइन्।