काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटल वर्तमान समयको आवश्यकतालाई ध्यानमा राख्दै ‘कोभिड अस्पताल’ का रुपमा रुपान्तरण भएको छ। 

नर्भिकले आफूलाई ‘कोभिड अस्पताल’ का रुपमा रुपान्तरण गर्दै सेवा दिन सुरु गरेको निकै दिन भइसकेको छ। 

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिकले आफ्नो सेवालाई कोभिड केन्द्रित गरेको र त्यसलाई थप परिष्कृत गर्दै लगिएको बताए। उनले बिरामीहरुको अनुरोधलाई ध्यानमा राखेर नर्भिकले आफूलाई कोभिड अस्पतालमा रुपान्तरण गरेकोसमेत प्रस्ट पारे। 

प्रधानमन्त्री केपी शर्मा ओलीबाट सबै ठूला अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरणका लागि भएको घोषणाको सिंहले स्वागतसमेत गरे। नर्भिकले कोभिड संक्रमणको दोस्रो लहर सुरु भएसँगै यो अवस्थाको आँकलन गरी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरिसकेको थियो। उनले भने, ‘सरकारले समेत सोहीअनुसारको घोषणा गरेकोमा हामी खुसी छौँ। अब अरुले पनि आफ्नो सेवालाई कोभिड केन्द्रित गर्नुपर्ने देखिएको छ।’ 

कार्यकारी निर्देशक सिंहकाअनुसार हाल नर्भिक अस्पतालमा उपलब्ध १३५ शय्यामध्ये ९० शय्या कोभिड शय्याका रुपमा रुपान्तरित भइसकेका छन्। ती ९० शय्या कोभिडका बिरामीले भरिएका छन्। 

नर्भिकमा रहेका ३५ आइसियू बेडमा पनि कोभिडकै सिकिस्त बिरामीलाई राखिएको छ। ‘हाम्रो अस्पतालमा उपलब्ध शय्याहरु अहिले भरिभराउ छन्’, सिंहले भने, ‘हामीले सरकारको नीति–निर्देशनभित्र रहेर शय्या संख्या थप गर्ने विषयमा समेत गृहकार्य गरिरहेका छौँ।’