काठमाण्डौ । पब्लिक कम्पनीमा रुपान्तरण भई क्षमता विस्तारका लागि आक्रामक बनेको नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो महत्वकांक्षी प्रोजेक्टको विधिवत थालनी गरेको छ।

नर्भिक अस्पतालले आफ्नो महत्वकांक्षी प्रोजेक्ट ‘अत्याधुनिक भवन निर्माण’को कामलाई विधिवत रुपमा वैशाख १, २०७९ (आज)देखि थालेको हो।

नयाँ वर्षको शुभमुहूर्तमा ८ तले अत्याधुनिक अस्पताल भवनको निर्माण थालिएको छ।  

हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा क्यान्सर उपचारको अत्याधुनिक सुविधासहितको सेवा विस्तार गर्ने उद्देश्यले भवन निर्माणको काम थालिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए। 

नेपालमा आधुनिक स्वास्थ्य सेवाको जग बसालेको श्रेय पाउने गरेको नर्भिकको आजै (वैशाख १ गते) २९ औँ वार्षिकोत्सवसमेत हो। वार्षिकोत्सवको अवसर पारेर भवन निर्माणको कामको सुरुआत गरिएको मिश्रले प्रस्ट पारे। 

अस्पतालको भवन निर्माणको जिम्मा रोशन कन्स्ट्रक्सन प्रालिले पाएको छ। अबको एक वर्षभित्र भवन संरचना नर्भिकलाई हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ। 

कुल १ लाख ६५ हजार स्क्वायर फिटमा बन्न लागेको नयाँ भवन कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्टसहितको आधुनिक र सुविधासम्पन्न हुनेछ।