काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा नवील बैंकले ३ अर्ब ४१ करोड खूद नाफा आर्जन गरेको छ । 

साबिकको नेपाल बंगलादेश बैंकलाई गाभेर ठूलो साइज बनाएको बैंकले नाफामा प्रगति गरेको देखिएको हो । 

अघिल्लो आर्थिक वर्षको यही अवधिसम्ममा बैंकले २ अर्ब ८१ करोड खूद नाफा कमाएको थियो । २७ अर्ब बढी चुक्तापूँजी भएको बैंकले दोश्रो त्रैमाससम्ममा आर्जन गरेको नाफा उत्साहजनक भने होइन । 

दोश्रो त्रैमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा ९७ करोड १३ लाखमा सीमित छ । यस्तै, अघिल्लो वर्ष २ अर्ब ८९ करोड रहेको रिटेन अर्निङ घटेर १ अर्ब २४ करोडमा सीमित बन्न पुगेको छ । 

बैंकले अघिल्लो वर्षको यही अवधिमा ३ अर्ब ११ करोडमा सीमित सञ्चालन मुनाफा बढाएर ४ अर्ब ८६ करोड पुर्याएको छ भने ४ अर्ब २१ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर ७ अर्ब ८३ करोड पुगेको छ । 

लोनको जोखिम व्यवस्थापनबापत गत वर्षभन्दा बढी रकम प्रभिजनमा राख्नुपर्दा नवील बैंकको वितरणयोग्य मुनाफामा प्रभाव परेको देखिन्छ । जस्तो अघिल्लो आर्थिक वर्षको यही अवधिसम्ममा इम्पेयरमेन्ट चार्ज ४० करोड १७ लाखमा सीमित रहेकोमा यो वर्ष बढेर १ अर्ब ८८ करोड ७५ लाख पुगेको छ । 

यसको प्रभाव निस्क्रिय कर्जा अनुपातमा समेत परेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्ममा नवील बैंकको निस्क्रिय कर्जा अनुपात १.११ प्रतिशतमा सीमित रहेकोमा बढेर यो वर्ष २.९८ प्रतिशत पुगेको छ । 

समीक्षा अवधिसम्म ३ अर्ब ४७ अर्ब बढी निक्षेप संकलन गरी नवील बैंकले ३ खर्ब १५ अर्ब बढी कर्जा परिचालन गरेकोमा अघिल्लो वर्ष यही अवधिसम्म ३ खर्ब २६ अर्ब बढी निक्षेप संकलन गरी ३ खर्ब हाराहारीमा कर्जा परिचालन गरेको थियो । 

नवील बैंकको चुक्तापूँजी अघिल्लो वर्षको यही अवधिसम्म २२ अर्ब ८३ करोड हाराहारीमा रहेकोमा बढेर यो वर्ष २७ अर्ब ५ करोड माथि पुगे पनि पूँजीको तुलनामा कतिपय महत्वपूर्ण सूचकमा उल्लेख्य प्रगति हुन नसकेको देखिन्छ । 

एनबी बैंक गाभेका कारण खूद नाफा बढोत्तरी हुँदा त्यसको प्रभाव वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस)मा भने देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म २३.५९ रुपैयाँ रहेको इपीएस समीक्षा अवधिमा सामान्य बढी रु. २५.३३ कायम भएको छ । 

समीक्षा अवधिको अन्तिम दिनको दोश्रो बजार मूल्यका आधारमा मूल्य आम्दानी अनुपात २८.१९ गुणा, प्रतिसेयर नेटवर्थ १९९.१२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति रु. १६०६.२७ रुपैयाँ तथा एलडी रेसियो २२.७७ प्रतिशत कायम भएको छ ।