काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ठूला बैंकहरुबीचको मर्जर प्रयासमा ध्यान दिन छाडे पनि केही बैंक मर्ज भई चुनौति बनिदिएपछि अन्य बैंकहरु आफैंले उपयुक्त मर्जर पार्टनर खोजी छलफललाई अगाडि बढाउन थालेका छन् । 

विशेष गरी ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्जर भई सबैभन्दा ठूलो बैंक बन्ने भएपछि सो बैंकसँगको प्रतिस्पर्धामा खरो उत्रिनलाई समेत अन्य वाणिज्य बैंकहरु मर्जरमा बाध्य भई धकेलिइरहेका छन् । यो क्रममा निजी क्षेत्र र विदेशी लगानी समेत रहेको नवील बैंक लिमीटेड समेत पछिल्लो समय मर्जर पार्टनरको खोजीमा जुटेको छ । 

हाल नेपथ्यमा बैंकका संचालकहरुले जारी राखेको छलफलले यदि निश्कर्ष पायो भने केही साताभित्रै नवील बैंकले बजारलाई सरप्राइज दिनसक्ने स्रोत दाबी गर्छ । त्यो सरप्राइज के होला त ?

नवील बैंक लिमीटेड निजी क्षेत्रका बैंकमध्ये सबैभन्दा राम्रो नाफा कमाउँदै आएको बैंक हो । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकपछि समग्र बैंकिङ उद्योगमै लामो समयदेखि सबैभन्दा बढी नाफा कमाउने बैंकको रेकर्ड नवीलकै नाममा छ। नवीलका अन्य वित्तीय सूचकहरु समेत बलिया छन् । उसो भए नवील जस्तो सवल र ब्राण्डेड बैंकले मर्जरको कुरा कोसँग गरिरहेको होला त ?

नवील बैंकका संचालकहरुका अनुसार देशकै सबैभन्दा पुरानो र पहिलो बैंक नेपाल बैंकसँग नवीलको मर्जर छलफल निकै अगाडि बढिसकेको छ । ‘जारी छलफलमा कुनै अवरोध भएन भने केही सातामै नवील र नेपाल बैंकबीच मर्जर सम्झौताको सरप्राइज दिनसक्ने अवस्था आउनेछ ।’ नवीलका एक संचालकले बिजशालासँग भने–‘नेपाल बैंक पनि पछिल्लो समय वित्तीय रुपमा स्वस्थ हुँदै गएको छ । योपटक राम्रै लाभांश घोषणा गर्यो। कुरा मिलेमा नेपाल बैंकसँग मर्ज हुँदा धेरै फरक नपर्ने हामी संचालकहरुबीचको बुझाई छ ।’

नवील बैंकका ती संचालकले भनेजस्तै नेपाल बैंकसँग मर्जरको छलफल अगाडि बढेकै हो त ? हामीले नेपाल बैंकका केही संचालक र व्यवस्थापनका उच्च अधिकारीलाई समेत सोध्ने प्रयास गर्यौं । सो क्रममा नेपाल बैंकका एक संचालकले समेत नवीलसँग मर्जरको छलफल निकै अगाडि बढिसकेको पुष्टि गरे । ‘पहिला पनि एकपटक छलफल भएको थियो, तर त्यसबेला बाध्यकारी माहौल थिएन ।’ ती संचालकले बिजशालासँग भने–‘अब भने नवील र नेपाल बैंक मात्र होइन, प्रतिस्पर्धामा खरो उत्रिन र बलियो बन्न अन्य कुनै पनि वाणिज्य बैंकले एक्लै अगाडि बढ्ने अवस्था रहेन । सबै चाँडै ठूलो हुनुपर्ने अपरिहार्यता छ, त्यसका लागि मर्जर उपयुक्त विकल्प बन्नसक्छ ।’

ती संचालकका अनुसार नवीलका संचालकहरुसँग संभावित मर्जरको विषयमा ४ चरणमा कुरा भइसकेको छ । धेरै कुरा मिलिसकेको उनको दाबी छ । सरकारी लगानी समेत रहेको बैंकमा नवीलको संभावित मर्जरको विषयमा सरकारी अधिकारी समेत सकारात्मक छन्। 

नेपाल बैंकका संचालकहरुले यही बेला कृषि विकास बैंकसँग पनि मर्जरका लागि केही चरणका छलफल गरेका थिए । तर, उनीहरुकै भाषामा कृषि विकास बैंकसँग भन्दा नवीलसँगको छलफल निश्कर्षउन्मुख देखिएको छ । 

दुई बैंकका संचालकहरुका अनुसार सेयर स्वाप रेसियो र नामको विषयमा सहमति हुन बाँकी छ । नेपाल बैंकका संचालकहरुले १००ः७० को अनुपातमा सेयर स्वाप रेसियो हुनुपर्ने दाबी पेश गरिरहेका छन् । तर, नवील बैंकका संचालकहरु साच्चिकै मर्जरमा जाने हो भने १००ः५० सम्म दिनसकिने मूडमा छन् । यो बीचको कुनै अंकमा सहमति बन्नसक्ने संभावना समेत प्रवल रहेको स्रोत दाबी गर्छ । 

नेपाल बैंकले देशकै पहिलो बैंक भएकोले नाम आफ्नो हुनुपर्ने अडान लिइरहेको छ । नवीलले भने आफ्नो बैंकको नामको अलग्गै ब्राण्ड रहेकोले नाम ‘नवील’ नै हुनुपर्ने अडान लिएको स्रोत दाबी गर्छ । केही संचालकले भने नवील र नेपाल बैंकको नाम मिसाएर नयाँ नाम जुराउन सकिने सुझाव समेत दिइरहेका छन् । 

नवील र नेपाल बैंक मिल्दा के हुन्छ ?
नवील र नेपाल बैंकको जारी मर्जर छलफलले निश्कर्ष पायो भने देशमा फेरि अर्को एउटा बलियो र ठूलो बैंक थपिनेछ । 

यी दुई बैंक एक हुँदा चुक्तापूँजी बढेर १९ अर्बको हाराहारीमा पुग्नेछ । पहिलो त्रैमासमा नवील बैंकले १ अर्ब १२ करोड खूद नाफा आर्जन गरेको छ भने नेपाल बैंकले ९१ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यी दुई बैंकको पहिलो त्रैमासको नाफा मिसाउँदा २ अर्ब बढी हुन आउँछ । यो हिसाबले एक वर्षमा यी दुई बैंक एक हुँदा ९ अर्बको हाराहारीमा नाफा कमाउन सक्छन् । 

नवील बैंकको रिजर्ब १० अर्ब ५७ करोड रुपैयाँको छ भने नेपाल बैंकको रिजर्बको आकार १३ अर्ब ३४ करोड रहेको छ । यी दुई बैंक एक हुँदा रिजर्बको आकार बढेर २४ अर्ब माथिको उचाईमा पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नवील बैंकले १ खर्ब ७२ अर्बको निक्षेप संकलन गरेको छ भने नेपाल बैंकले १ खर्ब १७ अर्बको निक्षेप संकलन गरेको छ । यो अवधिसम्म नवील बैंकले १ खर्ब ३५ अर्ब बढीको तथा नेपाल बैंकले ९२ अर्ब ४१ करोड बढीको कर्जा परिचालन गरेका छन् ।

पहिलो त्रैमासमा नेपाल बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २३.७२ रुपैयाँ छ भने नवील बैंकको ४८.९३ रुपैयाँ रहेको छ । 

नवील बैंकको कस्ट अफ फण्ड ६.२० र नेपाल बैंकको ५.२२ प्रतिशत रहेको छ ।

नेपाल बैंकको निस्क्रिय कर्जाको अनुपात २.७५ प्रतिशत रहेको छ भने नवील बैंकमा यस्तो कर्जाको अनुपात ०.६५ प्रतिशत मात्र छ । 
दोश्रो बजारमा नेपाल बैंकको अन्तिम बिक्री मूल्य प्रतिकित्ता रु. ३१० रहेको छ भने नवील बैंकको रु. ७३० रहेको छ ।

हाल नवील बैंकको शाखा संख्या ९२ छ भने एटीएम संख्या १४२ रहेको छ । 

नेपाल बैंकको शाखा संख्या १८१ रहेको छ भने एटीएम संख्या १०७ रहेको छ । यी दुई बैंक एक हुँदा शाखा संख्या २७३ को संख्यामा पुग्नेछ भने एटीएम सञ्जालको संख्या २४९ हुनेछ ।