काठमाण्डौ । नवील बैंकसँग मर्जरमा जाने हल्लाका कारण नेपाल बंगलादेश बैंकको मूल्य पुनः बढ्न थालेको छ । 

पछिल्लो समय केही संचारमाध्यमहरुमा नवील बैंकले नेपाल बंगलादेश बैंकलाई १००ः ३५ को सेयर स्वाप रेसियोमा किन्न लागेको हल्ला बाहिरिएको छ । यो हल्लासँगै नेपाल बंगलादेश बैंकको सेयरमूल्य उछालको गतिमा अगाडि बढ्न थालेको हो । 

आज बजार खुलेदेखि नै बढ्न थालेको बंगलादेश बैंकको दोश्रो बजार मूल्य ४० मिनेटको अन्तरालमा १४ रुपैयाँ बढेर ४०६ रुपैयाँ प्रतिकित्ताको दरमा पुगिसकेको छ । 

खरीदतर्फ ६९ हजारभन्दा बढी कित्ताको अर्डर पोस्ट भएको छ भने बिक्रीतर्फ ५३ हजार बढीको अर्डर पोस्ट भएको छ । 

खरीदतर्फको माग बढेसँगै बंगलादेश बैंकको मूल्य यो वर्षकै उच्च विन्दूमा पुगेको हो । सन् २०२० को मे १२ मा बंगलादेश बैंकको दोश्रो बजार मूल्य प्रतिकित्ता १९२ रुपैयाँमा सीमित थियो । 

तीन महिनाअघिसम्म प्रतिकित्ता २७३ आसपासमा खरीदबिक्री भइरहेको यो बैंकको मूल्य एकमहिनाअघिसम्म पनि ३०० रुपैयाँ हाराहारीमा मात्रै पुगेको थियो । एकसाताअघि ३६८ रुपैयाँमा कारोबार भएको बंगलादेश बैंक ४०० माथि कारोबार हुन थालेको हो ।