काठमाण्डौ । नवील–एनबी बैंकको टुंगिन लागेको मर्जर प्रक्रियामा आएको खटपटलाई शीघ्र प्रयासबाट दुवै बैंकका उच्च अधिकारीहरुले समयमै व्यवस्थापन गरेका छन् । 

एनबी बैंकका कर्मचारीलाई मर्जरपछि बन्ने बैंकमा जाँदा घटुवा गरी लैजाने पुरानो सहमतिलाई राष्ट्रबैंकले अस्वीकार गरी नयाँ सहमति कायम गराएपछि त्यो कार्यान्वयन हुन नदिन चलखेल भएको थियो । 

नवील बैंकको कर्मचारी संघले एक विज्ञप्ति जारी गर्दै एनबी बैंकका कर्मचारी नवील बैंकमा आउँदा साबिककै पद कायम हुनै नसक्ने र त्यसो गर्दा नवीलका कर्मचारीहरुको क्षमताको बेवास्ता गरेको ठानिने भन्दै चेतावनीयुक्त विज्ञप्ति निकालेको थियो । संघले निकालेको विज्ञप्तिमा नवील र एनबी बैंकका कर्मचारीहरुको कार्यदक्षता एउटै हुनैनसक्ने जिकिर गर्दै नवीलका कर्मचारीलाई जापानको दक्ष जनशक्ति र एनबीका कर्मचारीलाई पाकिस्तानको कम दक्ष जनशक्तिको रुपमा चित्रण गरिएको थियो । यो विषयले कर्मचारी–कर्मचारीबीच नै फाटो ल्याउने अवस्था बनेपछि दुवै बैंकका उच्च अधिकारीहरुले बेलैमा हस्तक्षेप गरी सबै पक्षलाई राखी राष्ट्रबैंकमा करिब १० दिनअघि नै भइसकेको सहमतिअनुसार नै अगाडि बढ्ने विषयमा नयाँ सहमति कायम बनाएका हुन् । 

राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र नवील बैंकका सञ्चालक समितिका उपाध्यक्ष निर्वाण चौधरीलाई डाकेर एनबी बैंकका कर्मचारीहरुको मर्जरपछि पनि घटुवा हुन नहुने भन्दै सोही खालको सहमति हुनुपर्ने बताएका थिए । गभर्नरको प्रस्तावलाई नै कार्यान्वयन गर्ने सहमतिसहित ढुंगाना र चौधरी त्यस दिन छलफलबाट उठेका थिए । तर, करिब १० दिनअघि नै भइसकेको सहमति मर्जरपछि कार्यान्वयन हुन नदिन कतिपयले खेलेपछि अवस्था केही सहज बनेको थियो । 

नवील बैंकका एक सञ्चालकले राष्ट्रबैंकको समन्वयमा यसअघि नै भएको सहमतिअनुसार नै अगाडि बढ्ने आज सहमति भएको प्रष्ट पारे । ‘नयाँ सहमति केही पनि भएको होइन । १० दिनअघिको सहमतिप्रति रुष्ट हाम्रा कर्मचारीहरुलाई सम्झाईबुझाई सहमतिमा ल्याउने काम मात्र भएको हो ।’ ती सञ्चालकले भने–‘अब भने नवील एनबी बैंक मर्जर समयमै टुंगिन्छ ।’ 

राष्ट्रबैंकले चाँडै यी दुई बैंकको मर्जरलाई फाइनल अप्रूभल दिंदैछ । अप्रूभल आएको केही दिनमै दुई बैंकको एकीकृत कारोबार सुरु हुनेछ। 

पूर्व निर्णयअनुसार असार १७ गतेदेखि एनबी बैंकका पूर्व सीइओ ज्ञानेन्द्र ढुंगानाले मर्जरपछिको नवील बैंकको व्यवस्थापनको कमान सम्हाल्नेछन् ।

सम्बन्धित समाचार :
नवील–एनबी मर्जर भाँडिने सम्भावना, कर्मचारी नै एकअर्काविरुद्धमा