काठमाण्डौ । अदालतमा मुद्धा परेको विषयलाई पाखा लगाएर निकै चलाख्याईपूर्ण ढंगले नवील बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्तिको सम्झौता गरेको छ । 

राजधानीको एक होटलमा आयोजित समारोहका बीच नवील बैंक र नेपाल बंगलादेश बैंकबीच प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । 

नवीलले बंगलादेश बैंकलाई यस्तो बेलामा प्राप्ति गर्ने सम्झौता गरेको छ, जतिबेला बंगलादेश बैंकमा ढाकास्थित आइएफआइसी बैंकको स्वामित्वमा रहेको ४१ प्रतिशत सेयर बिक्री गरिएको विषयमा लफडा भई सो मुद्धामा काठमाण्डौ जिल्ला अदालतले मंगलबार मात्रै सेयर बिक्री नगर्न नगराउन भन्दै आदेश दिएको थियो । सो आदेशसँगै काठमाण्डौ जिल्ला अदालतले विपक्षी नेपाल बंगलादेश बैंकको नाममा ७ दिने कारणदेखाउ आदेश जारी गरेको छ । 

अदालतमा विचाराधीन रहेको मुद्धाले किनारा नपाउँदै सो विषयले मर्जरलाई कुनै प्रभाव नपार्ने विश्लेषणसहित र अदालत लफडाको विषय बनेको सेयर खरीदलाई मर्जरपछि मात्र कार्यान्वयनमा ल्याउने चलाख्याई गर्दै यी दुई बैंकबीच मर्जरको सम्झौता भएको हो । 

यी दुई बैंकबीचको मर्जर सम्झौतालाई द्रूत गतिमा अगाडि बढाउने काममा नियामक नेपाल राष्ट्रबैंकले समेत समन्वय गरेको थियो । 

अदालतले के भनेको थियो ?
मंगलबार जिल्ला अदालत काठमाण्डौले बंगलादेशको ढाकास्थित आइएफआइसी बैंकको स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकको ४१ प्रतिशत सेयर खरीद प्रक्रिया रोक्न आदेश दिएको थियो । 

सनराइज बैंकका अध्यक्षसमेत रहेका ब्यवसायी मोतीलाल दुगडले आइएफआइसी बैंकले आफूलाई बंगलादेश बैंकको सेयर बिक्रीका लागि सम्झौता गरेको, तर धोकापूर्ण तरिकाले आफूलाई छलेर चौधरीसँग सम्झौता गरेकोमा आपत्ति जनाउँदै अदालतको ढोका ढकढक्याएका थिए । दुगडले नेपाल बंगलादेश बैंक, आइएफआइसी र नेपाल राष्ट्रबैंकलाई समेत विपक्षी बनाएर हालेको मुद्धामा पुस २७ गते काठमाण्डौ जिल्ला अदालतले सेयर बिक्री गर्ने कार्य नगर्नु÷नगराउनु भन्ने आदेश दिंदै ७ दिनभित्र नेपाल बंगलादेश बैंकलाई लिखित जवाफ पेश गर्न भनेको छ । 

न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासबाट भएको आदेशमा भनिएको थियो–‘नेपाल बंगलादेश बैंकको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सेयर १५७ रुपैयाँका दरले खरीद गर्न ३१ मार्च २०२१ मा राखिएको प्रस्ताव स्वीकार गरी विपक्षीबाट २ अप्रिल २०२१ मा स्वीकृत गरी करार कार्य अगाडि बढिसकेको भन्ने उजुरी साथ पेश गरेको पत्रबाट देखिन्छ। त्यो पत्र अनुसार सेयर विपक्षीबाट लिखित जबाफ प्राप्त नभएसम्म सो सेयर अन्य ब्यक्तिलाई बिक्री गर्ने काय नगर्नु नगराउनु भनी विपक्षीका नाउँमा आदेश जारी गरिएको छ।’ 

बंगलादेश बैंकले आइएफआइसीका तर्फबाट गत असार २९ गते सार्वजनिक सूचना जारी गर्दै सेयर खरिदका लागि विद्यमान सेयरधनीलाई आह्वान गरेको थियो। सेयर खरिदका लागि एनबी समूहबाट परेको आवेदन राष्ट्रबैंकले खारेज गरिदिएको थियो । त्यसपछि आइएफआइसीले आफ्नो स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकको सबै सेयर दुगड ग्रुपलाई बिक्री गर्ने सम्झौता गरेको थियो । सन् २०२१ अप्रील पहिलो सात दुगड ग्रुपसँग यस्तो सम्झौता भएको थियो । यो समूहले प्रतिकित्ता १५७ रुपैयाँको दरले बंगलादेश बैंकको सेयर उठाउने सम्झौता गरेका थिए । 

तर, सम्झौता भएको लामो समयसम्म पनि बाँकी प्रक्रियाहरु अगाडि बढ्न नसकिरहेको बेला आइएफआइसीले दुगड ग्रुपलाई थाहै नदिई चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीसँग सेयर बिक्रीको सम्झौता गरेपछि समस्या सिर्जना भएको हो । दुगड समूहले सम्झौताको मर्मविपरीत आइएफआइसीले विनोद चौधरीकी पत्नी सारिका चौधरीलाई सेयर बिक्री गर्ने सम्झौता गरेपछि अदालतमा मुद्धा हालेको हो । मुद्धा छिनोफानो नभएकै अवस्थामा हतार हतार मर्जरको सम्झौता गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सामाजिक सञ्जालमा कतिपयले यसलाई अदालतको आदेशलाई समेत बेवास्ता गर्दै जे पनि गर्न सकिन्छ भन्ने आशयबाट प्रेरित कदम समेत भनेका छन् भने कतिपयले अदालतको आदेशको अपहेलना तथा अपव्याख्याको रुपमा समेत यो कदमलाई विश्लेषण गरेका छन् । र, कतिपयले भने नवील बैंकले बंगलादेश बैंकलाई गाभ्ने सम्झौता गरी ठूला बैंकहरुलाई मर्जरमा जानैपर्ने ऐतिहासिक दवाब सिर्जना गर्दै बैंकिङ उद्योगमा युगान्तकारी काम गरेको दाबी समेत गरेका छन् । 

चौधरीतर्फको यस्तो तर्क
चौधरी समूहले भने बंगलादेश बैंकसँगको मर्जर सम्झौतालाई अदालतले नरोक्ने तर्क गरेको छ । अर्बपति विनोद चौधरीकी पत्नी सारिका चौधरीको नाममा किनिएको सबै सेयरको नामसारी मर्जरपछि मात्रै हुने सहमति भएको छ । मर्जरसम्म आइएफआइसीको स्वामित्वमा रहेको सेयर उसकै नाममा रहने हुँदा त्यसमा चौधरी ग्रुपलाई कुनै पनि मुद्धा वा दोष नलाग्ने सो पक्षको बुझाई छ । 

योसँगै नवील बैंकले बंगलादेश बैंकलाई किन्ने करिब १६ महिनाको प्रयास सफल भएको छ । नवीलले बंगलादेश बैंकलाई ४३ रुपैयाँको दरले किन्ने सम्झौता बनेको स्रोतको दाबी छ । 

हाल नेपाल बंगलादेश बैंकको चुक्तापूँजी ९ अर्ब ४ करोड रुपैयाँ रहेको छ । यो बैंकले अघिल्लो आर्थिक वर्षबाट १२ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरिसकेको छ । ४२ रुपैयाँको दरमा मर्जर हुँदा बंगलादेश बैंकबाट नवील बैंकको चुक्तापूँजीमा ४ अर्ब २३ करोड बढीको योगदान हुनेछ । 

हाल नबिल बैंकको चुक्तापूँजी १३ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । नवीलको साधारणसभा शुक्रबार(भोलि) आयोजना हुँदैछ । नवीलले साधारणसभाबाट ३३.६ प्रतिशत बोनस सेयर अनुमोदन गरेपछि चुक्तापूँजी बढेर १८ अर्ब ४९ करोड पुग्नेछ । बंगलादेश बैंकबाट हुने योगदानलाई समेत जोड्दा मर्जरपछि नवील बैंकको चुक्तापूँजी २३ अर्ब हाराहारीमा पुग्नेछ ।