काठमाण्डौ । निजी क्षेत्रको बलियो बैंक, नवील बैंक लिमीटेडको सेयरमूल्य पछिल्लो समय दैनिकजसो बढिरहेको छ । यो क्रम साताको अन्तिम कारोबार दिन बिहीबार(आज) अझ तीव्र भयो । अर्थात, यो दिन नवील बैंकको सेयरमूल्यमा ८.८६ प्रतिशत हाराहारीले बढ्यो । 

कतिपय वाणिज्य बैंकहरुले गत वर्षका लागि सेयरधनीलाई लाभांश घोषणा गरिसक्दा समेत नवील बैंकले त्यसको सुरसार गरेको छैन । कतिपयले भने नवील बैंकले आकर्षक लाभांश घोषणा गर्न लागेको भन्दै बजारबाट धमाधम सेयर उठाइरहेका छन् । बजारमा चलेको हल्लाजस्तो नवील बैंकले लाभांश घोषणाको तयारी गरेको हो ?वा यो वर्ष किन ढिलाई भइरहेको हो ? 

नवील बैंकस्थित उच्च स्रोतकाअनुसार बैंकको गत आर्थिक वर्षको ब्यालेन्ससिट स्वीकृतिका लागि राष्ट्रबैंक पठाइसकिएको छ । केन्द्रीय बैंकबाट ब्यालेन्ससिट स्वीकृत भएर आएपछि संचालक समितिको बैठक बसी लाभांश घोषणा गर्ने स्रोतले बताएको छ । 

'हामीले यो काम पुसभित्र गरिसक्नुपर्छ । राष्ट्रबैंकले अपेक्षित समयमै ब्यालेन्ससिट अप्रूभ गरेर पठाइदियो भने १५-२० दिनभित्र लाभांशको विषयमा आवश्यक निर्णय होला ।'- स्रोतले बिजशालासँग भन्यो । 

अघिल्लो वर्ष नवील बैंकले कात्तिक १७ गते नै लाभांश घोषणा गरेको थियो । सो बेला नवीलले १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो । 

नवीलले विगत लामो समयदेखि दोहोरो अंकको रिटर्न लगानीकर्तालाई दिइरहेको छ । यहीकारण समेत यो बैंक सेयरबजारका लगानीकर्ताको समेत रोजाईमा पर्दै आएको छ । 

बजारका लगानीकर्ताहरुले यो पटक पनि नवीलले दोहोरो अंकमै लाभांश घोषणा गर्नेमा विश्वस्त देखिन्छन् । यही विश्वासका कारण पनि नवील बैंकको दोश्रो बजार मूल्य रकेटको गतिमा बढ्न थालेको छ । 

यही विश्वासका कारण पनि एक साताअघिसम्म ९०० रुपैयाँ प्रतिकित्ता हाराहारीमा उपलब्ध नवील बैंकको सेयर मूल्य बढेर बिहीबारसम्म ११३० पुगिसकेको छ । हाल नवील बैंक सेयर बजारमा सबैभन्दा राम्रो मूल्य कायम भएको बैंक हो । पछिल्लो केही सातादेखि नवील बैंकले कुल बजार पूँजीकरणमा समेत सबै बैंकलाई टपिसकेको छ ।