-अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपालको सेयरबजारमा यो साता उछालको अवस्था देखियो । सातामा ५ पाँच दिन कारोबार भयो । जसमा ४ दिन बजार बढ्यो भने १ दिन सामान्य करेक्सन आयो । साताभरमा बजार १६५ अंकको बढोत्तरी आएको छ । 

साताभरमा ३५ अर्ब ३१ करोड बरबरको करोबार भयो । जुन अघिल्लो साताको तुलनामा धेरै राम्रो कारोबार भएको हो । यो कारोबार अघिल्लो साता २१ अर्ब बराबर मात्रै भएको थियो । 

सेयर बजारमा दैनिक रौनक आइरहेको बेला बैंकिङ सेक्टरले पनि विस्तारै गति लिइरहेको देखिन्छ। बिश्लेषकहरु बैकिङ क्षेत्रमा अझै बुल नआएको जिकिर गर्छन् भने बैंकको सेयर होल्ड गर्नेहरु बजारमा थकित पनि देखिन्छन् । 

वास्तविक बुल बैंकहरुमा आएपछि मात्रै बजारमा बुल आएको ठान्नेहरुको जमात पनि बजारमा ठूलै छ । यसै सिलसिलामा आज हामीले नेपालको एक अग्रणी बाणिज्य बैंक नबिल बैंकको आधारभूत तथा प्राबिधिक रुपमा केलाउने कोशिश गरेका छौं । 

आधारभूत पक्ष
नेप्सेमा सूचीकृत २६ वटा वाणिज्य बैंकहरुमा  चौधरी ग्रुपद्वारा प्रबद्र्धित यो बैंक सर्र्वसाधारण लगानीकर्तामा विश्वास र ब्राण्ड बनाउन सफल वित्तीय संस्था पनि हो । 

यो बैंक सन् १९८४ मा स्थापना भएको थियो । हालसम्म यो बैंकका १३५ शाखा रहेका छन् भने १८३ वटा एटिएम रहेका छन् । १७० भन्दा बढी देशमा बैंकिङ सम्बन्ध कायम गरेको यो बैंकले देशभर रेमिट्यान्स सेवा पनि दिएको छ ।

यो बैंकले विविध उत्कृष्ट पुरस्कार पनि पाएको छ । मर्चेन्ट बैंकिङ र रेमिट्यान्सलाई पनि आम्दानीको स्रोत बनाएको यो बैंकले केही समय पहिला युनाइटेड फाइनान्सलाई गाभेको थियो । हाल यो बैंकले देशको अर्को वाणिज्य बैंक, नेपाल बंगलादेश बैंकलाई समेत गाभ्ने सम्झौता गरेको छ । 

कम्पनीको हाल १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रुपियाँ  चुक्तापुँजी रहेको छ । यो बैंकको जगेडा कोषमा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १५ अर्ब ६२ करोड ६२ लाख  रुपियाँ भन्दा बढी रहेको छ, जुन कम्पनीको जारी पुँजी भन्दा बढी हो  । रिटेन अन अर्निङमा ४ अर्ब ६०  करोड ८९ लाख रुपैयाँ रहेको बैंकको खुद नाफा १ अर्ब ११ करोड रहेको छ । 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ३२  रुपियाँ रहेको छ ।  नेटवर्थ २४३.३१ रुपियाँ रहेको छ । निस्क्रिय कर्जा अनुपात १.१३ प्रतिशत कायम रहेको छ। यो बैंकको १० वर्षको औसत लाभांश दर ४६.११ प्रतिशत रहेको छ। बैंकमा सेयर प्रिमियमको रुपमा १५ करोड ८७ लाख ५८ हजार रुपियाँ रहेको छ ।

प्राबिधिक पक्ष
इलिअट वेभ सिद्धान्त :

यो सिद्धान्त १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन । प्राबिधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौं लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयरबजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ।  यो वेभमा पाँच वेभ र नौ डिग्री  हुन्छन् । त्यस्ता डिग्रीहरुले साना ठूला गरेर एकदिनदेखि एकसय बर्षसम्मको समय अबधिलाई प्रतिनिधित्व गर्छन् ।

इलिअट वेभमा बजार माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जाने तीन  वेभ हुन्छन् । माथि लाग्ने पाँच वेभमा पनि तीनवटा चडाबका र २ वटा सुधारका सववेभ देख्न सकिन्छ । यसमा १,३,५ चढाबको हुन्छ भने २ र ४ मा करेक्सन हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । ए बि र सीले बजार तल जाने सँकेत गर्छ। यो कम्पनीले बनाएको सेयर कारोबारको चार्टलाई  इलिअट वेभको दुई बर्षको चार्टमार्फत (७ मार्च २०१९) देखि हालसम्मको समय अबधिलाई हेर्दा वेभ (१) मा  ४४६ रुपियाँसम्म र वेभ(२) करेक्सन भएर ३५७ तथा वेभ(३) मा बढोत्तरीको साथ १०६६ सम्म र वेभ(४) मा करेक्सन भएर  ९२२ रुपियाँसम्म आयको देखिन्छ । वेभ(५) पुनः बढोत्तरीको साथ १३०८ रुपियाँसम्म पुगेको देखिन्छ । हाल यो कम्पनीमा वेभ ए बि सि को  करेक्सन चलेको  देखिन्छ ।  जसअन्तर्गत वेभ ए १०१८ र बि मा बढोत्तरीको साथ ११८४ र सी मा यो कम्पनीको सेयर  मूल्य रु. १००० सम्म आएर पुनः नयाँ उचाईतर्फ जान सक्छ।

फिवोनासी सिद्धान्त 


फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउनसक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ । यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ । ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्।  

यदि यो कम्पनीको भाउ घटेमा ०.२३ प्रतिशतको टेवा ११४८ मा, ०.३८ प्रतिशतको टेवा १११८ मा, ०.५ प्रतिशतको टेवा ११०० तथा ०.६१ प्रतिशतको टेवा १०८३ रुपियाँसम्म हुनसक्ने छ ।

एमएसीडी लाइन


सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने १३ जनवरी २०२२ सिँग्नल  लाइनले एमएसिडि लाइनले माथिबाट काट्न सुरु गरेको र बियरिस सिग्नल बन्न खेजेको देखिन्छ। (हेर्नुस कालो एरो ) जसले बियरिस सिग्नल बन्दै गरेको बुझिन्छ । हिस्टोग्राम पोजेटिभ भएका छन्, तर छोटा–छोटा भएका छन्।

बोलिङ्गर ब्याण्ड


यो सिद्धान्त १९८० को दशकमा जोन बोलिङ्गरले प्रतिपादन गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको  विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्डलाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन  हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो कम्पनीको मूल्यरेखाले मध्य ब्याण्डलाई छोएको छ र डोजि  क्याण्डल बनेको छ  ।  डोजि स्टार क्याण्डल आफैंमा एक अनिर्णित क्याण्डल भएकोले अब बन्ने क्याण्डलले मात्रै बजारको अबको यात्रा तय गर्ने देखिन्छ । 

आरएसआइ


यो बिन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भबिष्यमा हुने मूल्य परिर्वतनको भबिष्यवाणी गरिन्छ । यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभरबट जोनको रुपमा छुट्टाइन्छ । यस कम्पनीको हालको आरएसआई ४७ रहेको छ । यो भनेको न्यूट्रल जोनमा रहेको भन्ने बुझिन्छ । र, अघिल्लो पल्ट यो न्यून बिन्दु २२ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्चतम बिन्दु ७३ को तहमा पुगेपछि सेयरको भाउ ओरालो लागेको थियो । यसलाई आधार मान्दा सेयरको मूल्यमा केही करेक्सन भइरहेको बुझिन्छ ।

पिभट विश्लेषण: पिभट विश्लेषणबाट सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भबिष्यमा हुने मूल्यको उत्तारचढाब निकालिन्छ । यो कम्पनीको सेयरमूल्य हालसम्म पिभट प्वाइन्टभन्दा माथि नै रहेको छ । यदि आगामी दिनमा यो भन्दा तल आएमा केही समय करेक्सनको सम्भावना पनि देखिन्छ ।

बढेमा प्रतिरोध 
प्रतिरोध १– रु.११६७
प्रतिराध २– रु.१२४८
 प्रतिराध ३– रु.१३२१
पिभट पेइन्ट– रु.१०९४

 

घटेमा सर्पोट 
सपोर्ट १ – रु.१०१२
सर्पोट २ – रु. ९३९
सर्पोट ३ – रु.८५७

(नोट: सेयर बजारमा प्राबिधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो । यसको अर्थ सेयरबजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका हैनौं । प्राबिधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना भइरहेको हुन्छ । हामी पनि स्वस्थ आलोचनाको खुला हृदयले स्वागत गर्छौ । लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिनसक्ने क्षमता र कम्पनीको बित्तीय अवस्था हेरेर लगानी गर्नु पर्छ । यो विश्लेषण कुनै कारोबारको सिफारिस पनि होइन ।)