काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकलाई मर्ज गर्ने क्रममा त्यहाँ कार्यरत कर्मचारीहरुलाई साबिककै लेभलमा लगिने सहमति बनेपछि त्यसको विरोधमा नवील बैंकका कर्मचारीहरुले आन्दोलन थालेका छन्। 

नवील बैंकका कर्मचारीहरुले वर्षौदेखि आफूहरुको बढुवा लगायतका विषय थाँतीमा रहेका भन्दै ती विषयलाई समेत टुंग्याएर मात्र अगाडि बढ्न र आफूहरु तल पर्ने गरी एनबी बैंकका कर्मचारीहरुलाई स्थान दिने विषय सच्याउन माग गर्दै हिजोदेखि आन्दोलन थालेका हुन् । 

हिजो नवील बैंकका कर्मचारीहरुले बैंकको केन्द्रीय कार्यालयमा कालोब्यानर टाँगेका थिए । त्यसको अघिल्लो दिन नवील बैंकका प्रमुख कार्यकारी अधिकृतलाई कर्मचारी समायोजनका विषयमा संघले ध्यानाकर्षण पत्र पठाएको थियो । 

बिहीबार भने नवील बैंक कर्मचारी संघको अगुवाईमा बैंकको केन्द्रीय कार्यालय र सबै शाखा कार्यालयमा विरोधस्वरुप कालोपट्टि बाँधेर कर्मचारीहरुले काम गरेका थिए । 

नवील बैंक कर्मचारी संघका अध्यक्ष सविन भट्टराईले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने अडान दोहोर्याए । 

भट्टराईले नवील बैंकका कर्मचारीहरु एनबी प्राप्तिपछि पुरस्कृत हुने र व्यवस्थापनबाट थप हौसला प्राप्त हुने आशमा रहे पनि उल्टो मनोबल गिर्ने गरी नयाँ सहमति भएको भन्दै त्यो आफूहरुलाई मान्य नहुने प्रष्ट पारेका छन् । 

बैंकिङ क्षेत्रमा लामो समयदेखि अग्रणी स्थानमा रहेका नवीलका कर्मचारीहरु सोसरह एनबीका कर्मचारीलाई पनि पद दिने सहमतिप्रति संघको बिमति छ । 

‘जतिसुकै प्रगतिशील कुराको दुहाई दिए पनि के पाकिस्तानको जनशक्तिको कार्यदक्षताको मिलान जापानको जनशक्तिको कार्यदक्षतासँग तुलना गर्न मिल्छ ?’ सीइओलाई लेखिएको पत्रमा प्रश्न गरिएको छ । 

नवील बैंक कर्मचारी संघले हाल फाइल बढुवाको रोलक्रममा रहेका, ग्रेडको सीमा छोइसकेका कर्मचारीको हकमा २ तह र अन्यको हकमा १ तह स्वतः बढुवा गरी न्यायिक र भावनात्मक रुपमा यथोचित सम्बोधन गर्न कडा आग्रह गरेको छ । 

अध्यक्ष भट्टराईले बिहीबार बिजशालासँग कुरा गर्दै मर्जरपछि बन्ने बैंकमा हाल दुवै बैंकका कर्मचारीहरु मिल्नुको विकल्प नरहे पनि दुवै खुशी हुने वातावरण व्यवस्थापनले बनाउनुपर्नेमा जोड दिए । ‘एनबीका साथीहरु पनि खुशी खुशी भएर आउनुस्, हामी पनि खुशी हुने वातावरण बनोस् ।’ उनले भने–‘एनबीका साथीहरुलाई मात्र खुशी बनाएर हामीलाई दुःखी बनाउने कुरा किमार्थ मानिन्न । यसले मर्जरपछि पनि काम गर्ने वातावरण बिग्रिन्छ । व्यवस्थापन र सरोकारवालाले बेलैमा ध्यान दिनुपर्छ ।’

नवील र एनबी बैंकबीच मर्जरमा जाने सहमति हुँदै गर्दा एनबीका कर्मचारीहरुलाई नवीलमा जाँदा २ तहसम्म घटुवा गर्ने भनिएको थियो । सो सहमतिप्रति एनबीका कर्मचारीहरुले आन्दोलन समेत गरेका थिए । 

एनबीका कर्मचारीहरुमाथि अन्याय परेको भन्दै अन्य वाणिज्य बैंकका कर्मचारी संघहरुले पनि सामूहिक रुपमा राष्ट्रबैंक गुहारेका थिए । राष्ट्रबैंकले समान वर्गका बैंकबीच मर्जर हुँदा केही सानो र कमजोर बैंकका कर्मचारीको घटुवा हुने सहमति आफूहरुलाई मान्य नहुने भन्दै यो खारेज हुनुपर्ने प्रष्ट निर्देशन दिएको थियो । राष्ट्रबैंकले यही निर्देशन कार्यान्वयन गर्नु भनेर मौखिक निर्देशन दिएको थियो । यही निर्देशनले पछिल्लो समय दुई बैंकको मर्जर प्रक्रियामा समस्या निम्त्याइदिएको हो । तथापि, राष्ट्रबैंकले पछिल्लो समय दुवै बैंकबीच देखिएको समस्या समाधानका लागि पहललाई जारी राखेको छ ।