काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले ‘नागरिक पेन्सन योजना’ सञ्चालनमा ल्याएको छ।

सीआईटीको यो योजनामा अब आयआर्जन गर्ने तथा प्रचलित कानुबमोजिम स्थापना भएका संघसंस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक, कर्मचारी वा स्वरोजगार रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीसमेत सहभागी हुन सक्नेछन्। 

बचतको सीमा कति ?

यो योजनामा सहभागी बचतकर्ताहरुले न्युनतम मासिक ५०० र अधिकतममा आम्दानीको क्षमताअनुसार १० ले भाग जाने संख्यामा रकम जम्मा गर्न सक्नेछन्। बचतकर्ताको आम्दानीका आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रुपमा रकम जम्मा गर्न सकिने विशेषतासमेत रहेको छ। यस्तो किस्ता बुझाउँदा मासिक ५०० रुपैयाँभन्दा कम नहुने गरी बुझाउनुपर्ने कोषले जनाएको छ। 

कहिले भइन्छ पेन्सन पाउने योग्य ?

पेन्सन पाउन बचतकर्ताको उमेर ६० वर्ष पूरा भएको हुनुपर्छ भने यो योजनामा कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्छ। 

बचतकर्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफलसमेत एकमुष्ठ भुक्तानी लिन वा पेन्सका रुपमा भुक्तानी लिन पनि सक्नेछन्। कोषका अन्य योजनामा जम्म भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्नेछन्। 

कस्तो छ पेन्सन गणना विधि ?

सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सनका रुपमा पाउनेछन्। 

यस योजनामा कसरी गर्ने रकम जम्मा ?

सहभागी बचतकर्ताले जम्मा गर्नुपर्ने रकम कोषले तोकेको बैंक खातामा भौचरमार्फत वा विद्युतीय भुक्तानीमार्फत जम्मा गर्न सक्नेछन्। बचतकर्ताले बैंकमा रकम दाखिला गरेपछि सोको जानकारी कोषलाई दिनुपर्नेछ। कोषद्वारा तोकिएको खातामा रकम जम्मा नभएमा उक्त रकमप्रति कोषको कुनै दायित्व रहने छैन। 

कोषमा रकम जम्मा गर्दा सम्बन्धित सहभागीले बचतकर्ताको नाम र कोषले प्रदान गरेको परिचय नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ। रकम जम्मा गर्दा आफ्नो सही नाम र कोषले प्रदान गरेको परिचय नम्बर उल्लेख गर्नुपर्ने दायित्व सम्बन्धित बचतकर्ताको हुनेछ। गलत नाम वा परिचय नम्बर उल्लेख भई रकम जम्मा भएमा त्यसको जिम्मेवारी कोषले लिने छैन।