काठमाण्डौ । नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिस्ट्रेसन सेवा सुरु गरेको छ।

अनलाइन रजिस्ट्रेसन सेवाको सुरुआतसँगै यसमा सहभागी हुन चाहनेले कोषको कार्यालयमा आउन नपर्ने भएको छ। यसका लागि योजनामा सहभागी हुनका लागि  http://nlk.org.np/home मा गएर Eservice मा गएपछि New-E-service login पश्चात Ragister For Penson Yojana मा गई वा https://eservicenew.nlk.org.np/Portal/SchemeAccountOpeningKycMaster/Create मा login गरी सहभागी हुन चाहनेले पोर्टलमा उल्लेख गरेअनुसारको विवरण भरेपछि अनलाइन सेवा लिन सक्नेछन्।   

यो योजना सबै नेपालीलाई सहभागी गराउने गरी ल्याइएको हुँदा इन्टरनेट सेवा पुगेका स्थानबाट सहभागी हुन इच्छुक व्यक्तिहरुले सजिलै सहभागी हुन सक्ने छन्। यस योजनामा आयआर्जन गर्ने जोसुकै, प्रचलित कानुनबमोजिम स्थापना भएका संघ, संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन्। 

यसमा सहभागी हुने बचतकर्ताले न्यूनतम मासिक ५ सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने संख्यामा रकम जम्मा गर्न सक्नेछन्। बचतकर्ताको आम्दानीका आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रुपमा पनि रकम जम्मा गर्न सकिने विशेषतासमेत रहेको छ। 

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ। बचतकर्र्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ वर्षपश्चात समेत एकमुष्ठ रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भूक्तानी लिन सक्नेछन्। 

कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्नेछन्। सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउन सक्ने व्यवस्था रहेको छ।