काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनीलाई नेपाल धितोपत्र बोर्डले स्टक डिलरको रुपमा लाइसेन्स प्रदान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । 

बहुुप्रतिक्षित स्टक डिलरका रुपमा प्रवेश गर्न लागेको नागरिक स्टक डिलरलाई धितोपत्र व्यवसायी(स्टक डिलर)को धितोपत्र बोर्डले लाइसेन्स प्रदान गर्न अन्तिम चरणमा रहेको बोर्डका सहप्रवक्ता रुपेश केसीले बताएका छन् । ‘हामी स्टक डिलरको लाइसेन्स दिने अन्तिम अन्तिम चरणमा पुगेका छौं ।’–उनले बिजशालासँग भने ।

नागरिक स्टक डिलरले यसै साता कम्पनीको भौतिक तथा पूर्वाधार अवस्थाका बारे यसै साता धितोपत्र बोर्डलाई अवलोकन गराइसकेको बताइएको छ । सम्भवतः आगामी साता नागरिक स्टक डिलरलाई धितोपत्र बोर्डले लाइसेन्स दिने निर्णय हुने बुझिएको छ ।

स्टक डिलरको रुपमा लाइसेन्स दिने प्रक्रिया अन्तिम चरणमा पुगेको भए पनि नागरिक स्टक डिलर कम्पनीले भने अनौपचारिक रुपमा दोश्रो बजारबाट सेयर उठाउने काम थालिसकेको छ । 

बहुप्रतिक्षित नागरिक स्टक डिलरको प्रवेशले नेपाली सेयर बजारमा संस्थागत लगानीकर्ताको अभाव पूर्ति गर्ने र बजारको स्थायीत्वका लागि महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ। 

नागरिक स्टक डिलरमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल टेलिकमको ९ प्रतिशत रहेको छ भने बाँकी ३० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ।

नागरिक स्टक डिलरको हाल चुक्तापुँजी साढे ३ अर्ब रुपैयाँ रहेको छ। डिलरको आईपीओ निष्कासनपछि चुक्तापुँजी ५ अर्बको हुनेछ। योबाहेक सहभागी संस्थाहरु मिली एउटा बास्केट फन्ड तयारी गर्ने र फन्डको साइज पुँजीको ६ गुणासम्म बनाउन पाउने पोलिसी छ।

सर्वसाधारणका लागि डेढ अर्ब रुपैयाँको आईपीओ भने आगामी २ वर्षभित्रै निष्कासन गर्ने डिलरको तयारी छ।