काठमाण्डौ ।​ नागरिक लगानी कोषमा प्रत्येक महिना पर्वतको फलेवास नगरपालिकाका असंगठित क्षेत्रका विपन्न मजदुरको १ हजार रुपैयाँ जम्मा गरिने भएको छ। कोषमा मजदुरको ५०० रुपैयाँ योगदान तथा नगरपालिकाले थपिदिने ५०० रुपैयाँ गरी मासिक १ हजार रुपैयाँका दरले जम्मा गरिने भएको हो। 

यस विषयमा नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच द्विपक्षीय सम्झौता भएको हो। सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नगरपालिकाका तर्फबाट नगर प्रमुख पदमपाणि शर्माले हस्ताक्षर गरेका छन् ।

उक्त योजनामा सहभागी करिब ७०० असंगठित क्षेत्रका बिपन्न मजदुरले ६० बर्ष पुगेपश्चात मासिक रुपमा पेन्सन प्राप्त गर्ने वा सावाँ, ब्याज तथा प्रतिफल सहित एकमुष्ठ रकम लिन सक्ने गरी सहभागिता गराइएको छ । यस पेन्सन योजनाको बैंकिङ पार्टनरका रुपमा एनआईसी एसिया बैंक रहेको छ । 
नगरपालिकाको यस कार्यक्रमलाई एनआईसी एसिया बैंकको कुस्मा शाखाबाट सेवा प्रदान गर्ने ब्यवस्थासमेत गरिएको छ । पहिलो चरणमा सहभागी भएका प्रत्येक सहभागीलाई सामाजिक उत्तरदायित्वअन्तर्गत कोषका तर्फबाट १००÷१०० रुपैयाँ सहभागीको खातामा थप गर्ने कोषका कार्यकारी निर्देशक नेपालले बताए । 

उक्त अवसरमा नगरपालिका प्रमुख, उपप्रमुखलगायत अन्य दलका प्रतिनिधिले नगरपालिकाको  कदम, कोषको सहयोग र सहकार्यको प्रशंसा गरेका थिए।