काठमाण्डौ । नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको सञ्चित नाफाबाट १ (एक) प्रतिशत थप प्रतिफल दिने भएको छ। 

अवकाश कोष सञ्चालन कार्यविधि,२०५९ को दफा १० (३) मा भएको व्यवस्थाअनुसार २०७७ असार मसान्तसम्मका सहभागीहरुको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने भएको हो। यस प्रयोजनका लागि करिब १ अर्ब ३ करोड रुपैयाँ बराबर सहभागीलाई वितरण हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए। 

यसबाट सहभागीहरुलाई विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको असरबाट पर्न गएको आर्थिक प्रभावलाई समेत केही मात्रामा सहयोग पुर्याउनेछ भन्ने विश्वास कोषले लिएको पाइएको छ।  

उक्त प्रतिफल रकम सम्बन्धित सहभागीहरुको खातामा जम्मा गरिएको छ। कोषले यस कार्यक्रममा ब्याज दरको अतिरिक्त थप प्रतिफल निरन्तर रुपमा दिने नीति लिएको छ। यसका साथै नागरिक लगानी कोषबाट सञ्चालित अन्य कार्यक्रम (ट्रस्टी) हरुमा समेत आम्दानीको आधारमा थप प्रतिफल प्रदान गर्ने नीति रहेको कोषले जानकारी दिएको छ।