काठमाण्डौ । नागरिक लगानी कोषले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएका सहभागीका हकवालालाई १ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ। 

कोभिड–१९ को सुरुआतदेखि नै कोभिडबाट मृत्यु हुनेहरुका आश्रित परिवारलाई राहत पुर्याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैया उपलब्ध गराउने कोषले निर्णय गरेको थियो। सोही क्रममा कोषले २०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेहरुलाई उक्त रकम उपलब्ध गराउँदै आइरहेको छ। 

कोषले हालसम्म कोभिडबाट मृत्यु भएकाहरुका ८४ जना सहभागीका कानुनअनुसारका हकवालालाई कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो। 

उक्त शाखाका वरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवलनिवासी कन्हैया थारुको श्रीमती पार्वती थारुलाई २ लाख रुपैयाँको चेक हस्तारण गरेका छन्। चेक प्राप्त गरेपछि थारुले कोषबाट प्राप्त उक्त रकमले आफूलाई राहत पुगेको बताइन्।