काठमाडौ । नागरिक लगानी कोषका सहभागी र कर्मचारीहरुले अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एन्ड एलिड साइन्समा सेवा लिँदा विशेष छुट पाउने भएका छन्। 

छुट उपलब्ध गराउने सम्बन्धमा नागरिक लगानी कोष र अन्नपूर्ण न्युरो अस्पतालबीच बिहीबार सम्झौता सम्पन्न भएको हो। सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र अन्नपुर्ण न्युरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरदहरी गजुरेलले हस्ताक्षर गरेका छन्। 

सम्झौता हस्ताक्षर कार्यक्रममा कोषका नायब कार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेल र अस्पतालका अपरेसन मेनेजर रोजिन बज्राचार्यको उपस्थिति थियो। 

सम्झौतापश्चात कोषका सहभागी र कर्मचारीहरुले अन्नपूर्ण न्युरो अस्पतालबाट उपचार सेवा लिँदा छुट पाउनेछन्। अस्पतालले हेल्थ प्याकेजमा १५, ल्याबमा १०, रेडियोलोजीमा १०, एम्बुलेन्स सेवामा १०, बेड शुल्कमा १० र सर्जरीमा १० प्रतिशत छुट दिनेछ। 

नशा रोग सम्बन्धमा अस्पतालको आफ्नो छुट्टै पहिचान रहेकोले कोषका सहभागी करिब ७ लाख र कोषका कर्मचारी यसबाट लाभान्वित हुने अपेक्षा कोषले गरेको छ।