काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को सवा ३ लाख बढी कित्ता सेयर आज माघ १३ गतेबाट लिलामीमा राखिएको छ। 

नागरिक लगानी कोषको ३ लाख ३१ हजार ९०२ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। लिलामीमा राखिएको सेयरमा प्रचलित कानुनबमोजिम योग्य लगानीकर्ताहरुले बोलपत्र पेस गर्न सक्नेछन्। 

लिलामीमा राखिएको सेयरको न्यूनतम प्रतिकित्ता १ हजार १८३ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन पेस गर्नुपर्नेछ। अधिकतममा भने १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ। 

लगानीकर्ताले काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयका साथै एनआईसी एसिया बैंकको काठमाण्डौको थापाथलीस्थित कर्पोरेट कार्यालय र शाखाहरु विराटनगर, आदर्शनगर (वीरगन्ज), महेन्द्रपुल (पोखरा), बुटवल, धनगढी र वीरेन्द्रनगर (सुर्खेत) मा बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति यही माघ २० गते बैंकिङ समयसम्म तोकिएको छ।