काठमाण्डौ । नागरिक लगानी कोषले ३३ औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ४ वटा संस्थालाई ७ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ। 

ती संस्थाहरुलाई बिहीबार कोषका कार्यकारी निर्देशक रमण नेपालले चेक हस्तान्तरण गरेका हुन्। 

सोही अवसरमा कोषले सशस्त्र प्रहरी बल, नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयलाई ए डिभिजन डबल लिग खेल्न आवश्यक पर्ने खेलकुदलगायतका सामग्री खरिद गर्न १ लाख ५० हजार रुपैयाँको चेक प्रदान गर्यो। 

त्यसैगरी स्वास्थ्य क्षेत्रतर्फ अशक्त, अपांग भएका मस्कुलर डिस्ट्रोफीका बिरामीहरुको पुनस्र्थापनका लागि फिजियोथेरापी, एम्बुलेन्स र एकीकृत स्वस्थ्य शिविर सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले मस्कुलर डिस्ट्रोफी फाउन्डेसन–नेपाल, शंखरापुर काठमाण्डौलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ। 

त्यसैगरी कोषले उपत्यकाबाहिर फरक क्षमता भएका बालबालिकाहरुलाई खेलकुदका माध्यमबाट उत्साहित गर्न अपांगता भएका व्यक्तिहरुका लागि काम गर्दै आएको राप्ती बहिरा संघ दाङलाई समावेशी खेलकुदसम्बन्धी कार्यका लागि २ लाख रुपैयाँको चेक प्रदान गरेको छ। योभन्दा अघि कोषले कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई अध्यापन गराइरहेको पदमपुर आधारभूत बिद्यालय ढेढौली, चितवनलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको थियो। 

चेक हस्तान्तरण कार्यक्रममा कोषका कार्यकारी निर्देशक नेपालले कोषले विगतदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्दे आइरहेको र आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने बताए।