– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नागरिक लगानी कोषले कोभिड महामारीअघि ३ करोड जनतालाई नै सुविधा पुग्ने गरी ‘नागरिक पेन्सन योजना’ ल्याएको थियो। 

यो योजनाअन्तर्गत आमनागरिकले थोरैमा मासिक ५०० रुपैयाँमात्र जम्मा गरेर पनि सहभागिता जनाउन सक्छन्। मासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक रुपमा पैसा जम्मा गरे पनि हुन्छ। रकम जम्मा जुनसुकै माध्यमबाट गर्न सकिन्छ। कम्तीमा १५ वर्ष लगातार यो योजनामा सहभागिता हुनुपर्छ भने ६० वर्षको उमेर पुगेपछि यो योजनामा योगदानका आधारमा पेन्सन कोषले दिन्छ। 

यो योजना सुरु भएको ३ वर्ष बितिसक्दा पनि जम्मा ५ लाखजनाको सहभागिता रहेको छ भने १५ करोड रुपैयाँमात्रै संकलन भएको छ।

यसरी यो योजनामा आकर्षण कम हुनुमा प्रचार–प्रसार नहुनु तथा कोभिडपछिको प्रभाव रहेको कोषका उपकार्यकारी निर्देशक नारायणप्रसाद घिमिरे बताउँछन्। ‘न्यूनतम ५०० रुपैयाँ जम्मा गरेर यो योजनामा सहभागी हुन सकिन्छ, अधिकतम कुनै सीमा रहेको छैन’, उनले भने।

यस योजनामा जम्मा भएको रकमलाई १७० ले भाग गरेर आउने रकमलाई हरेक महिना पेन्सन योजनाअनुसार रकम दिइन्छ। यो योजनामा सहभागी भएका व्यक्तिको मृत्युपछि उनको परिवार तथा हकवालाले पेन्सन पाउँछन्। तर, कोभिडअगाडि सुरु गरेको यो योजनामा प्रचार–प्रसार नहुँदा आममानिसको सोचेजति सहभागिता हुन नसकेको घिमिरेले जानकारी दिए। 

जम्मा गरेको रकम ५ वर्षपछि कर्मचारी सञ्चय कोष योजनाअनुसार नै यो पेन्सन फन्डको पनि सेवासुविधा रहेको घिमिरेको भनाइ छ। आगामी बजेटमा यो योजनामा सहभागीहरुलाई कर छुटको व्यवस्था गर्न आफूहरु लागिपरेको घिमिरेले जानकारी दिए।