काठमाण्डौ । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नियमित रुपमा आयोजना गर्दै आइरहेको चाईना सेल्स मिशन कोभिडको महामारीपछि पुनः सञ्चालन हुने भएको छ । 

नेपाल पर्यटन बोर्ड र नेपाल राजदूतावास बेइजिङ्गको सहकार्य एवम् समन्वयमा २०२३ अप्रिल १४ देखि २१ सम्म चीनका तीन प्रमुख व्यवसायिक शहरहरु चेङदु, खुमिङ्ग र बेइजिङ्गमा आयोजना गर्ने तयारी पूरा भएको संघका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक वरुण मेहताले बताएका छन् । 

नाट्टाले यस बर्षको नेपाल चाईना सेल्स मिशनको समन्वय गर्न संयोजकका रुपमा नाट्टा उपाध्यक्ष वरुण मेहतालाई जिम्मेवारी दिएको छ । 

मेहताको नेतृत्वमा चीन जान लागेको नेपाली पर्यटन व्यवसायीहरुको प्रवद्र्धन टोलीमा ट्राभल/टूर व्यवसायी, होटेल एवम् ट्रेकिङका गरी कुल ३७ जना छन् । 

यस टोलीले उल्लेखित तीन वटा शहरमा नेपालको पर्यटनबारे प्रस्तुतिकरण गर्नुका साथै त्यहाँको स्थानीय टूर अपरेटरहरुसँग बी टूबी गर्ने तथा स्थानीय सञ्चारमाध्यमहरुलाई नेपालका पर्यटकीय आकर्षणबारे जानकारी गराईने कार्यक्रम छ । 

कार्यक्रममा बेइजिङ्ग स्थित नेपाली राजदूतावासले पनि नाट्टाको यस प्रवद्र्धनमूलक कार्यक्रममा सहकार्य गर्नेछ । 

कोभिड १९ले थला परेको पर्यटन व्यवसाय पुनः संचालनका लागि नाट्टाले अन्तराष्ट्रिय सेल्स मिसन, मार्ट तथा प्रदर्शनीहरु गर्दै आइरहेको सन्दर्भमा यस चाइना सेल्स मिशनले पर्यटन क्षेत्र पुनः सुचारु गर्नका लागि मद्दत पुग्ने आशा गरिएको छ ।