काठमाण्डौ । लगातार चार दिन बढेको सेयर बजारमा बुधबार दोहोरो अंकको करेक्सन आएको छ।

बजारमा आज ३०.७५ अंकको करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक २६४९.२० विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.६८ अंकले घटेर ४९७.०३ को विन्दुमा झरेको छ। कारोबार रकम साढे ४ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे आजको घटाइलाई विशुद्ध करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘बजार अहिले आफ्नो लयमा चलिरहेको छ’, उनले भने, ‘अब पहिलेजसरी बजारमा गिरावट आउँदैन, पछिल्ला ४ कारोबारमा बजार बढेको आज घट्यो, यो करेक्सन नै हो। यो खरिदको अवसर पनि हो।’

सेयर बजारले जहिले राम्रो समाचारको पहिले नै संकेत गर्ने गरेको घिमिरेको भनाइ छ। ‘बजारको पछिल्लो बढाइले राम्रो समाचार आउने संकेत गरेको जस्तो देखिन्छ’, उनले भने।

आजको करेक्सनले बजार थप मजबुत बनेको घिमिरेको तर्क छ। लगानीकर्ता बढ्दा मात्तिएर किन्नुभन्दा घट्दा संयम भएर खरिद गर्ने बानी बसालेमा बुल ट्रयापमा पर्ने सम्भावना कम हुने उनले सुझाव दिए। 

सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने पनि बजारको घटाइ र बढाइलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँछन्। ‘आजको बजार घट्नुको मुख्य कारण नाफा बुक नै होे’, उनले भने, ‘बजार करेक्सन हुँदै अगाडि बढ्छ।’

बजारले तत्काल नयाँ रेकर्ड नबनाए पनि बजार बुलिस ट्रेन्डमै रहेको न्यौपानेको भनाइ छ। ‘बजार साइडवेजमा चल्न सक्छ, सेयर कर्नरिङपछि फेरि बजार बढ्छ’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटामा २ वटामात्रै हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ।

यो दिन जलविद्युत समूह ०.४९ प्रतिशतले बढ्दा वित्त समूह ०.१ प्रतिशतले उकालो लागेको छ। 

आज होटेल तथा पर्यटन समूह सर्वाधिक २.२१ प्रतिशतले ओरालो लागेको छ। लघुवित्त समूह २.१ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा १.५२ प्रतिशत, व्यापार समूहमा १.७४ प्रतिशत, विकास बैंक समूहमा १.७१ प्रतिशत, निर्जीवन बीमा समूहमा १.८८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७२ प्रतिशत, अन्य समूहमा ०.१६ प्रतिशत, जीवन बीमा समूहमा ०.३८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.९६ प्रतिशत र लगानी समूहमा १.५४ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २३६ कम्पनीका ९५ लाख ५९ हजार ४२९ कित्ता सेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँमा किनबेच भएका छन्।

आज शिवम् सिमेन्टको सर्वाधिक १८ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको १६ करोड ७४ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन अप्पर तामाकोशीको १४ करोड ३५ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ११ करोड ७ लाख रुपैयाँ, एचआईडीसीएलको १० करोड ६५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १० करोड १४ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ९ करोड ८४ लाख रुपैयाँ, नबिल बैंकको ८ करोड ४३ लाख रुपैयाँ, एनटीसीको ७ करोड ८३ लाख रुपैयाँ र नेपाल बंगलादेश बैंकको ७ करोड ७५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

यो दिन मध्य भोटेकोशी जलविद्युतका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

आज विजय लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।